देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आजदेखि निषेधाज्ञामा थप कडाइ

देशान्तर

प्रशासनले आजदेखि काठमाडौं उपत्यकाको निषेधाज्ञा जेठ २० गतेसम्मका लागि लम्ब्याएको छ । उपत्यकाको मृत्युदर र संक्रमणदर नरोकिदा चरणबद्ध रूपमा निषेधाज्ञा लम्ब्याउनुपरेको प्रशासनले जनाएको छ ।

उपत्यकाका तीनओटै जिल्ला प्रशासन कार्यालयले मानिसको अत्यावश्यक आउजाउ र अत्यावश्यक सवारीबाहेक सबै बन्द गरे संक्रमण रोकथाम गर्ने नीति लिएका छन् ।

अहिले देशका सबैजसो जिल्लामा निषेधाज्ञा छ । दोस्रो लहरको कोरोनाको रोकथामका लागि उपत्यकामा निषेधाज्ञा लगाइएको जेठ १६ गते एक महिना पुग्दैछ ।

अहिले देशभर दैनिक डेढसयभन्दा धेरै मानिसले ज्यान गुमाइरहेका छन् । दैनिक करिब आठ हजार संक्रमित थपिरहेका छन । संक्रमण र मृत्युदरमा कमी नआएपछि पटक–पटक निषेधाज्ञा थप्नुपरिरहेको प्रशासनको भनाइ छ । पछिल्ला दुईदिन भने संक्रमण दरमा केही कमी आएको छ ।

निषेधाज्ञाकैबीच राष्ट्रपति कार्यालयले निषेधाज्ञामा कडाइ गर्न कडा सजयासहितका प्रावधान भएको कोरोना संक्रमण नियन्त्रणसम्बन्धी अध्यादेश पनि जारी गरेको छ । अध्यादेशमा उल्लेख गरिएका प्रावधान उल्लङ्घन गरेमा पाँच लाख रुपैयाँसम्म जरिबाना र एक वर्ष कैद सजाय गर्नसक्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिइएको छ ।

आजदेखि एक साता लम्ब्याइएको निषेधाज्ञामा दैनिक उपभोग्य खाद्यान्नका पसल बन्द गर्ने निर्णय गरिएको छ । थप एकसाता निषेधाज्ञा लम्ब्याउनेबारे निर्णय भएको पछिल्ला दुई दिनसम्म खाद्यन्न जोहो गर्नभन्दै प्रशासनले समय दिएको थियो । तर, कैयौँ विपन्न वर्गले खाद्यान्नको जोहो गर्न नसकेको बताइरहेका छन् ।

सागसब्जी, माछामासु, दुध किनबेचको लागि बिहान ९ बजेसम्म समय तोकिएको छ । मालवाहक सवारी साधनलाई समेत सञ्चालनमा रोक लगाइएको छ । बंैक तथा वित्तीय क्षेत्रलाई सीमित कर्मचारी राखेर कार्यालय सञ्चालन गर्न भनिएको छ ।

स्वास्थ्य तथा अन्य तोकिएका अत्यावशकीय सेवालाई आवतजावतमा रोक लगाइएको छ । अत्यावश्यक दैनिक उपभोग्य र इन्टरनेट सेवासम्बन्धी सवारी राति ९ देखि बिहान ९ बजेसम्म मात्रै सञ्चालन हुने भएका छन् । सरकारी कार्यालयबाट दिइने सेवा पनि स्थगित गरिएको छ ।