देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रपतिले संविधानको ठाडो उल्‍लंघन गरेको देउवाको आरोप

देशान्तर

काठमाडौँ – कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको ठाडो उल्लंघन गरेको बताए। प्रेस युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै राष्ट्रपति भण्डारीले पनि संविधानको उल्‍लंघन गरेको बताए ।

सरकार गठनका लागि आह्वान भएपछि बहुमत भन्दा बढी सांसदहरूको हस्ताक्षर लिएर राष्ट्रपति कार्यालय गएको तर राष्ट्रपति भण्डारीबाट संविधानअनुसार काम नभएको देउवाको भनाइ थियो ।

संविधानको धारा ७६ को उपधारा ५ अनुसारको प्रधानमन्त्रीका लागि आह्वान भएपछि आफूहरू बहुमत सांसदको हस्ताक्षर लगेर गएको तर राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेको भन्दै देउवाले आक्रोश व्यक्त गरे ।

कसको बहुमत छ भन्ने हेर्नका लागि सांसदहरूको लाइन लगाएको भए हुन्थ्यो भन्दै उनले मध्यरातमा प्रधानमन्त्रीले भनेअनुसार राष्ट्रपति चलेको बताए ।

संविधानको उल्‍लंघन प्रधानमन्त्रीले त गरेका थिए राष्ट्रपतिले पनि गर्नुभयो । संविधानको ठाडो उल्‍लंघन राष्ट्रपतिले पनि गर्नुभयो देउवाले भने ।

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले लोकतन्त्रमाथि खतरा उत्पन्न गरेको देउवाको भनाइ थियो । त्यस्तै, वर्तमान व्यवस्थामाथि पनि उनीहरूबाट हस्तक्षेप भएको भन्दै त्यसका विरुद्धमा एकजुट हुनुपर्ने उनको आग्रह थियो ।

मुलुकमा मनपरीतन्त्र चलेपछि कांग्रेस अदालत गएको देउवाको भनाइ थियो । स्वतन्त्र न्यायपालिकाले संविधानमाथिको हस्तक्षेपलाई परास्त गर्ने विश्वास आफूले लिएको उनले बताए ।

देउवाले पार्टीको महाधिवेशन भदौमा गर्न आफू तयार रहेको र त्यसका लागि सबैसँग छलफल गर्न तयार रहेको बताए । वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी महाधिवेशनबारे कुरा उठाएका थिए । जवाफमा देउवाले भने,शेरबहादुरले महाधिवेशन गरेन भन्ने कलंक लगाउन चाहन्न ।

कोरोना महामारीको समयमा कसरी महाधिवेशन गर्ने भन्नेबारे सबैलाई सुझाव दिन उनको आग्रह थियो । आफूलाई महाधिवेशन नगरी बस्न रहर नभएको पनि उनले बताए ।