देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पूर्व सभामुखहरुले भने – संसद विघटन असंवैधानिक, ओली इतिहासकै अनुदार प्रधानमन्त्री

देशान्तर

काठमाडौं – पूर्व सभामुखहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले यहि जेठ ७ गते गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको बताएका छन् । आज (मंगलबार) सभामुख अग्नीप्रसाद सापकोटाले डाकेको पूर्व सभामुखहरुसँगको अन्तरक्रियामा बोल्दै उनीहरुले केपी शर्मा ओली इतिहासमै सबैभन्दा अनुदार प्रधानमन्त्री रहेको टिप्पणी गरे ।

सरकारले दोस्रो पटक प्रतिनिधिसभा भंग गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि सभामुख सापकोटाले पूर्व सभामुखहरूसँग परामर्श लिइरहेका छन् । छलफलका क्रममा उनीहरुले सर्वोच्च अदालतको आदेशको अवमूल्यन गर्दै दोस्रो पटक प्रतिनिधिसभा विघटन गर्नु अलोकतान्त्रिक कदम भएको बताएका छन् । कोरोना महामारी रोक्न सरकारले अन्य दलहरूसँग समन्वय गर्नुपर्ने बेलामा चुनाव घोषणा गरेर पौंठेजोरी खोज्नु अलोकतान्त्रिक भएको टिप्पणी उनीहरुले गरेका छन् ।

जुन संसदमा प्रधानमन्त्रीमा नियुक्त भए त्यही संसदलाई देखिनसक्ने प्रधानमन्त्री ओलीले दुई दुई पटक संसद भंग गरेर इतिहासमै सबैभन्दा ठूलो अपराधपूर्ण काम गरेको उनीहरुले बताएका छन् ।बैठकमा सभामुख अग्निप्रसाद सापकोटा, पूर्व सभामुखहरू रामचन्द्र पौडेल, तारानाथ रानाभाट, ओनसरी घर्ती, कृष्णबहादुर महरा सहभागी रहेका छन् भने सुवास नेम्वाङ भने सहभागी छैनन् । पूर्व सभामुख रानाभाट जुमबाट बैठकमा सहभागी छन् भने दमननाथ ढुङ्गाना पनि जुम प्रविधिबाट बैठकमा सहभागी हुने प्रयासमा रहेको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।