देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालमा मंगलबारदेखि चक्रवातको असर देखिने, पर्वतारोहिलाई सतर्क हुन आग्रह

देशान्तर

काठमाडौँ – बंगालको खाडीमा रहेको न्यून–चापीय क्षेत्रमा बनेको चक्रवातका कारण मंगलबारदेखि नेपालका विभिन्न भूभागमा हावाहुरी, वर्षा र हिमपातको सम्भावना देखिएको छ ।

उक्त न्यून–चापीय क्षेत्र चक्रवातमा परिणत भएको र मंगलबारसम्म धेरै शक्तिशाली चक्रवातमा परिणत हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ ।

सो प्रणालीका कारण मंगलबार अपराह्नपछि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली भई वाग्मती प्रदेश र प्रदेश नं १ का उच्च हिमाली – पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले बताए ।

महाशाखाले उच्च हिमाली भूभागमा हावाहुरी, हिमपात र वर्षाको सम्भावना रहेकाले मंगलबारदेखि केही दिनसम्म पर्वतारोहीलाई मौसमअनुसार सतर्कता अपनाई सुरक्षित रहन अनुरोध गरेको छ ।

देशका धेरै स्थानमा बुधबारदेखि केही दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै प्रदेश नं १, प्रदेश नं २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा तथा बिहीबार कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा समेत भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताए ।