काठमाडौं – विभिन्न युवा संघसंगठनले राष्ट्रपति विद्यादेवी भण्डारीले पटक–पटक संविधानको हत्या गरेको भन्दै यथाशीघ्र कानुनी कठघरामा उभ्याउन माग गरेका छन् । उनीहरूले अक्षम्य अपराधमा संलग्न राष्ट्रपति भण्डारी तथा प्रधानमन्त्री केपी ओलीलाई पदमुक्त भइसकेपश्चात् कारबाही गर्ने वातावरण राजनीतिक तथा संवैधानिक हिसाबले समेत निर्माण गर्न अपिल गरेका छन् ।
नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत, बाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा, युवा संघका अध्यक्ष नरेश शाही, समाजवादी युवा संघका अध्यक्ष योगेन्द्र राय यादव, अखिल नेपाल युवक संघका अध्यक्ष अलिनकिशोर घिमिरे र विवेकशील साझा युवा संगठनका अध्यक्ष अब्दुस मियाँले शनिबार संयुक्त विज्ञप्ति निकालेर ओलीले चाल्ने हरेक गैरसंवैधानिक र राष्ट्रघाती कदमको डटेर सामना गर्न आमनेपाली युवालाई आह्वान गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘युवाहरूले इतिहासको कालखण्डमा हरेक तानशाहहरूलाई घुँडा टेकाएका छन्, युवाहरूको संयुक्त संघर्षमार्फत हरेक मोर्चामा ओलीलाई परास्त गर्दै देशलाई पुनः संवैधानिक व्यवस्था र राजनीतिक स्थायित्वको अवस्थामा पु-याउन हामीहरू सक्षम हुनेछौँ भन्ने सुनिश्चितता हामी आमजनसमुदायलाई व्यक्त गर्न चाहन्छौँ ।’
प्रतिक्रिया