यतिबेला देश कोभिड– १९ संक्रमणको दोस्रो लहरले आक्रान्त छ । संक्रमितहरू जीवन र मृत्युको दोसाधमा छटपटाइरहेका छन् । अस्पताल पुगेका संक्रमितहरू घर फर्किने हुन् कि हैनन्, परिवारका सदस्यहरू गहिरो चिन्तामा छन् । भेन्टिलेटर र आईसीयूको सुविधा त परैको कुरा भयो अक्सिजन नपाएर मानिसहरूले ज्यान गुमाउनु परिरहेको छ । अस्पताल पुगेका बिरामीहरूको इहलीला चिकित्सककै आ“खा अगाडि समाप्त भइरहेको छ । चिकित्सकहरू लाचार छन् । बिना अक्सिजन उनीहरूले बिरामीको ज्यान जोगाउन सकिरहेका छैनन् । महामारीको यस्तो दर्दनाक व्यवस्था नेपालीहरूले पहिलोपटक भोग्दै छन् । नेपालीहरू यति निरीह बन्नु परेको सायद यो पहिलो पटक होला । जनतालाई यस स्थितिबाट बचाउने जिम्मेवारी सरकारको हो । तर विडम्बना सरकार जनता बचाउनेभन्दा पनि मृत्युको संख्या गन्नमै व्यस्त छ । केपी शर्मा ओली आफ्नो राजनीतिक चालबाजीमा कामयाव भएर बहुमतको प्रधानमन्त्रीबाट अल्पमतको प्रधानमन्त्रीको रूपमा राष्ट्रपतिबाट शपथ लिन सफल भएका छन् । तर जनता भने आफ्नो जीवन रक्षाको संघर्षमा दिनप्रतिदिन असफल हुँदै गएका छन् ।
यस्तो अवस्थामा पनि देशका प्रधानमन्त्रीको अनुहारमा चिन्ताको एउटा धर्सा पनि देखिँदैन । बिरामी भएर पटक पटक मृत्युसँग पैठेजोरी खेलिसकेको भएर होला उनी कुन पनि रोगलाई तुच्छ ठान्छन् र आफ्नो आत्मबलले जित्न सकिनेमा विश्वस्त छन् । तर उनले आफू मुलुकको प्रमुख पार्टीको नेता र प्रधानमन्त्रीको हैसियतले करोडौं रुपैयाँ राज्यको ढुकुटीबाट खर्चिएर सुविधासम्पन्न उपचारको जोगाड भएकाले दुई पटक मिर्गौला प्रत्यारोपण गरेर पनि सक्रिय जीवन बाँच्न सफल भएको यथार्थ बिर्सिएका छन् । उनी ठान्छन्– नेपालका हरेक नागरिक उनी जत्तिकै दुस्साहसी र राज्यको ढुकुटीमा पहुँच भएका छन् । नेपालीको प्रतिरोधी क्षमता विश्वमै उत्कृष्ट रहेको दलिल पेस गर्दै आएका प्रधानमन्त्री ओली यतिबेला के को आधारमा मृतकको संख्या गनिरहेका छन् ? उनी के आधारमा अन्तर्राष्ट्रिय समुदायलाई भनिरहेका छन्– ‘सिचुएसन इज अन्डरकन्ट्रोल’ ?
प्रधानमन्त्री ओलीले तेस्रो कार्यकालको लागि शपथ लिएको दिन करिब २५० संक्रमितहरूले ज्यान गुमाए । तीमध्ये अधिकांशले अक्सिजनको अभावमा जीवन गुमाएका थिए । एक सिलिन्डर अक्सिजनको जोहो गर्न सकेको भए मात्रै पनि उनीहरूको जीवन जोगिने थियो । ओलीले आफ्नो गुमिसकेको प्रधानमन्त्री पद फेरि ब्युत्याए । अक्सिजन जस्तो सामान्य मेडिकल वस्तुको अभावमा नागरिकले आफ्नो जीवन नै गुमाउनु परिरहेको छ । तै पनि ओली भन्दैछन्– ‘सिचुएसन इज अन्डर कन्ट्रोल ।’ ओलीले आफ्नो तेस्रो कार्यकाल सुरु गर्दै मृतकको दाहसंस्कार गर्नेलाई प्रोत्साहन भत्ता दिने निर्णय सुनाए । यसबाट उनी मृत्युलाई प्रोत्साहित गरिरहेको अर्थ लगाउन सकिन्छ ।
यदि सरकारले कोरोनालाई खेलाँची नसम्झेर यसको रोकथाममा गम्भीरता देखाउन सकेको भए आजको यो विकराल अवस्थाको सामना जनताले गर्नुपर्ने थिएन । नेपालमा महामारीको यो रूप एकैचोटी आएको हैन । भारतमा कोरोना संक्रमणको तेस्रो लहर फैलिँदै गर्दा हाम्रा प्रधानमन्त्री जनतालाई अम्बाको पातको ओखती सुझाइरहेका थिए । उनका शिक्षा मन्त्री स्कुल कलेज बन्द नगर्ने ढिप्पी लिएर बसेका थिए । खोप खरिदमा कमिसनको हिसाबकिताबमा सरकार व्यस्त थियो ।
नेपाल–भारत नाका बन्द गर्ने, दुई देशबीच मानिसहरूको आवतजावतलाई व्यवस्थित गर्ने, परीक्षणको दायरा फराकिलो बनाउने, खोप अभियानलाई तीव्रता दिने, स्वास्थ्य केन्द्र र अस्पतालहरूको अवस्था सुधार गर्नेलगायतका कामहरू समयमै हुन सकेको भए यस्तो विकराल अवस्था सायदै आउने थियो । तर प्रधानमन्त्रीलाई यो सब गर्ने फुर्सद कहाँ थियो र ? उनी त कसरी हुन्छ आफ्नो कुर्सी जोगाउने र विरोधी तह लगाउने काममा व्यस्त देखिन्थे जसको परिणाम भोग्न आज नेपाली नागरिक अभिशप्त बनेका छन् । आज बाध्य भएरै सबैले अपिल गर्नु परेको छ– सरकार तपाई हाम्रो ज्यान बचाउन आउँदैन, आफ्नो प्राणको रक्षा हामी आफैं गरौं । किनभने हाम्रो मृत्युको जिम्मा सरकारले लिँदैन, सरकार केवल नागरिकको लास गन्ने भूमिकामा मात्रै सीमित भएको छ ।
(२०७८ जेठ २ गते प्रकाशित देशान्तर साप्ताहिकको सम्पादकीय ।)
प्रतिक्रिया