काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेका नेता माधवकुमार नेपाल पक्षले धोका दिएको भन्न नमिल्ने बताएका छन् । कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज लगाउन संघीय संसद भवन नयाँ वानेश्वरमा पुगेका दाहालले पत्रकारको प्रश्नको जवाफमा दाहालले नेपाल पक्षले अहिले नै धोका दिएको भन्न हतार हुने बताए ।
उनले भने, ‘म धोका भन्ने शब्द प्रयोग गर्न चाहन्न, उहाँहरुमा पनि केही समस्या पक्कै भए होलान् । उहाँहरु आफैं पनि संविधान र लोकतन्त्रको पक्षमा संघर्षको क्रममा रहेकाले अहिले नै धोका दिनुभयो भन्ने शब्द बढी हुन्छ ।’ खोप लगाउन पुगेका दाहाल र एमाले नेता नेपालको संसद भवनमै भेट समेत भएको थियो ।
नेपाल पक्षले संसदबाट राजीनामा दिएमा सरकार गठन गर्न सजिलो अवस्थामा रहेको काँग्रेस-माओवादी केन्द्र नेपाल पक्षले ओलीसँग सहमति गरेपछि त्यो सम्भावना टरेको थियो । वैकल्पिक सरकारको सम्भावना नबनेपछि संबिधानको धारा ७६ को उपधारा ३ बमोजिम केपी शर्मा ओली पुनस् नियुक्त भएका छन् ।
प्रतिक्रिया