काठमाडौं – पार्टी विवाद समाधानका लागि सहमति गरेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आज (शुक्रबार) साँझ फेरि भेटवार्ता हुने भएको छ । साँझ हुन लागेको बैठकमा कार्यदल सदस्यहरु पनि सहभागी हुने एक नेताले जानकारी दिएका छन् ।
‘अन्तिम समयमा स्थगित नभए पहिलो चरणमा केपी ओली र माधव कमरेडसहित कार्यदलको बैठक आजै साँझ साढे ६ बजेतिर बस्ने भन्ने भएको छ,’ ती नेताले सुनाए । ओली र नेपालबीच बिहीबार भएको एक्ला एक्लै वार्तामा पार्टीको विवाद समाधान गर्न कार्यदल बनाएर अगाडि बढ्ने सहमति भएको थियो । कार्यदलमा दुई सदस्य पछि थप गर्ने गरी ओलीले आफ्नो पक्षबाट विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेलको नाम तय गरेका थिए ।
नेपालले आफ्नो पक्षबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्तको नाम तय गरेका थिए । साँझ बस्ने बैठकमा यिनै नेताहरु सहभागी हुने भएका छन् । नेता नेम्वाङले पनि साँझ साढे ६ बजेतिर बैठक बस्ने जानकारी दिए । पार्टी एकता जोगाउन एमालेलाई ०७५ जेठ २ को अवस्थामा फर्काउनुपर्ने र २८ फागुनयता संस्थापन पक्षका निर्णय खारेज हुनुपर्ने नेपाल समूहको मुख्य शर्त छ ।
प्रतिक्रिया