देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बुढानिलकण्ठमा ठाकुर र देउवाबिच छलफल जारी

देशान्तर

काठमाडौं – एमालेको विवाद मिलाउन प्रधानमन्त्री केपी ओलीले प्रयास गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पनि जसपालाई सरकार गठनका लागि मनाउने प्रयास गरेका छन् ।

आज राति ९ बजेसम्म नयाँ सरकार गठनका लागि बहुमत जुटाउने समय भएकोले आज बिहानैदेखि राजनीतिक भेटघाट तीव्र छन् ।

ओलीले माधव नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथिको कारवाही फिर्ता लिएलगत्तै देउवाले पनि जसपाका शीर्ष नेताहरुलाई छलफलका लागि आफ्नो निवासमा बोलाएका हुन् ।

जसपाका बाबुराम र उपेन्द्र पक्षले नयाँ सरकारको पक्षमा छ । तर ठाकुर र राजेन्द्र महतो भने तत्काल नयाँ सरकारको पक्षमा नभई ओलीकै पक्षमा छन् । यस्तोमा पूरै जसपालाई मनाउने तयारीमा देउवा लागेका हुन् ।

पूरै जसपाका ३२ सांसदले साथ दिए देउवाले प्रधानमन्त्रीमा दाबी गर्ने तयारी गरेका छन् । यसैका लागि देउवाले पहिले राजेन्द्र महतो र त्यसपछि महन्थ ठाकुरलाई निवासमा बोलाएर छलफल गरेका हुन् ।

कुनै पनि हालतमा ठाकुरले कांग्रेस नेतृत्व स्वीकार्ने अवस्था नआए विकल्पमा जसपा अध्यक्ष उनै ठाकुरलाई प्रधानमन्त्री बनाएर जान सकिने विकल्पलाई पनि कांग्रेस र माओवादीले खुल्ला राख्ने तयारी गरेका छन् ।

आफू प्रधानमन्त्री बन्ने अवस्थामा ठाकुरले पनि गठबन्धन सरकार गठनमा रुची देखाउने कांग्रेसको बुझाई छ ।