देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पदाधिकारीमा कुरा नमिले पछि स्थायी कमिटी बोलाउने ओलीको तयारी,

देशान्तर

माधव पक्ष र बादल समूहसहितको स्थायी कमिटी बोलाउने ओलीको तयारी, पदाधिकारीमा कुरा मिलेन

काठमाडौं – चार नेतामाथिको कारवाही फिर्तापछि एमाले अध्यक्ष केपी शर्मा ओलीले आजै माधव नेपालसँग भेटेर पार्टी एकताको लागि थप पहल गर्ने भएका छन् । ओलीले माधव पक्षसहितको स्थायी कमिटी बैठक आजै बोलाउन लागेको बालुवाटार स्रोतले जनाएको छ ।

नेपालसँग बुधवार राति र आज बिहानसम्म पनि टेलिफोनमा पटक(पटक कुराकानी भएको र आजै दुई नेताबीच वार्ता हुने सम्भावना रहेको प्रधानमन्त्रीका सल्लाहकार समेत रहेका एमाले नेता डा। राजन भट्टराईले बताए ।

स्थायी कमिटीले पार्टी र सरकारको सन्दर्भमा निर्णय गर्ने अधिकार ओलीलाई दिएको छ । एमाले स्रोतका अनुसार कारवाही फिर्तापछि बस्ने स्थायी कमिटी बैठक नेकपाकालको हुने सम्भावना छ ।

तल्ला कमिटीहरू मिलाउनका लागि कार्यदल गठन गर्न पनि अध्यक्ष ओली सहमत भएका छन् । यसअघि दुवै पक्षका दोस्रो तहका नेताहरूबीच २६५ सदस्यीय केन्द्रीय कमिटी मान्ने र नेकपाकालीन स्थायी कमिटीको बैठक बसेर कार्यदलको प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने अनौपचारिक सहमति भएको थियो ।

तर, माधव नेपाल पक्षले साविक एमालेका पदाधिकारी पुनःस्थापित हुनुपर्ने अडान राखेको थियो । त्यो छलफलमा संस्थापन पक्षबाट शंकर पोखरेल, राजन भट्टराई, भानुभक्त ढकाल, विनोद ढकाललगायत संलग्न थिए । माधव नेपाल पक्षबाट घनश्याम भुसाल, योगेश भट्टराई, ठाकुर गैरेलगायत संलग्न थिए ।

अध्यक्ष ओली नेकपाकालीन स्थायी कमिटीका सदस्यहरूको बैठक बोलाउन तयार भए पनि माधव नेपाल पक्षले एमालेकालकै स्थायी कमिटी बस्नुपर्ने र त्यसमा बादल पक्ष सहभागी गराउन नहने अडानमा रहेकाले कुरा मिलेको थिएन ।
माधव नेपाललाई उनीनिकट नेताहरूले पनि एक कदम पछि हटेर जेठ २ को वरिपरिबाट निकास निकाल्दै पार्टीभित्रै बसेर अन्य कुरामा छलफल गर्न दबाब दिइरहेका छन् ।