देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भोलिदेखि काठमाडौंमा अत्यावश्यकबाहेक कार्यालय बन्द

देशान्तर

काठमाडौं – उपत्यकामा भोलि बिहीवारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ संक्रमणको जोखिम बढ्दो क्रममा रहेकाले निषेधाज्ञाको अवधिभर त्यस्ता कार्यालय बन्द रहने जनाइएको छ ।

काठमाडौं प्रशासनले बुधवार एक सूचना जारी गरी कोरोनाको महामारी तीब्र रूपमा बढिरहेकाले त्यसको नियन्त्रणका लागि निर्णय गरिएको जनाएको छ । ‘निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवाको कार्यालय बाहेक अन्य सबै जिल्लास्थित कार्यालय यही वैशाख ३० गतेदेखि बन्द गर्ने/गराउने व्यवस्थाका लागि जानकारी गराइन्छ,’ प्रशासनद्धारा जारी सार्वजनिक सूचनामा उल्लेख छ ।

चनामा अत्यावश्यक सेवाका कार्यालयलाई सेवा प्रवाहमा कुनै व्यवधान आउन नदिइ न्यूनतम जनशक्तिमा सेवा प्रवाहको व्यवस्थापन गर्नसमेत भनिएको छ । उपत्यकामा बुधवार राति १२ बजेदेखि लागू हुने गरी आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । बुधवार राति १२ बजेदेखि तोकिएको निषेधाज्ञाको समयावधि सकिन लागेकाले रातिदेखि नै लागू हुने गरी थप २ हप्ता आदेश जारी गरिएको हो । 

उपत्यकाका ३ जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारी सहितको बुधवारको बैठकले निर्णय गरेको हो । उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाको आदेश जारी भएको थियो । त्यसपछि वैशाख २२ गते पुनः १ हप्ता थप गर्दै बुधवार राति १२ बजेसम्मका लागि समय थपिएको थियो । संक्रमण दर नघटेपछि पुनः २ हप्ता थप गरिएको हो । 

उनका अनुसार यसपालि निषेधाज्ञामा अत्यावश्यक खाद्य सामग्री खरिद बिक्रीका लागि बिहान १० बजेसम्म खुला रहने भएको छ । उक्त समयमा अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोर्स (खाद्य सामग्री मात्र विक्री गर्न) खुला हुनेछ । मानिसका भीडभाड हुने सबै गतिविधिमा रोक लगाइएको छ ।

सर्वसाधारणले औषधि, खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैनन् । 

सार्वजनिक एवं निजी सवारीसाधन जेठ १३ गते राति १२ बजेसम्म उपत्यकामा सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने छ ।

विवाह, ब्रतबन्ध होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । घरमै उक्त कार्य गर्दा १० जनाभन्दा बढी उपस्थित हुन नपाइने आदेशमा भनिएको छ ।