देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बोजेपोखरी नागरिक समाजको निशुल्क एम्बुलेन्स सेवा

देशान्तर

ललितपुर । ललितपुरको महालक्ष्मि नगरपालिकाको बोजेपोखरी नागरिक समाजले २४सै घण्टा निशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । कोभिड– १९ को दोस्रो लहरको बढ्दो महामारीलाई लक्षित गरी निशुल्क एम्बुलेन्स सेवा सुरु गरेको समाजका संयोजक जयकुमार केसीले जानकारी दिए ।

महालक्ष्मी नगरपालिका वडा नं. ३ मा रहेको समाजले महालक्ष्मी नगरपालिका र आसपासका क्षेत्रमा यही २६ वैशाखबाट २४सै घण्टा निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको केसीले बताए । एम्बुलेम्स सेवा चाहिएमा केसीको मोबाइल नं. ९८४१४३५७०४ मा सम्पर्क गर्न सकिने जानकारी दिइएको छ ।

समाजले महालक्ष्मी नगरपालिकाभित्र २० शैय्याको अक्सिजन सहितको आइसोलेसन वार्ड बनाउने तयारी पनि गरिरहेको समाजका बरिष्ठ सदस्य सुमनकुमार केसीले बताए । ‘उपयुक्त ठाउँ खोजि गरिरहेका छौं, ठाउँ पाउनासाथ आइसोलेशन वार्ड बनाउने तयारीका साथ अघि बढेका छौं’, सदस्य केसीले भने ।

समाजले गत वर्षको लकडाउन अवधिमा पनि दिनहु करिब एक हजारभन्दा बढी मानिसहरुलाई निशुल्क रुपमा विहान र बेलुकाको भोजन गराएको थियो । कोभिडका बेला नेपालमै पहिलो पटक समाजले निशुल्क भोजन वितरणको कार्य आरम्भ गरेको संयोजक केसीको दाबी छ । कोभिड संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले सार्वजनिक रुपमा सामुहिक भोजन वितरणमा रोक लगाएपछि समाजले विपन्न परिवारको घरदैलोमा निशुल्क रुपमा रासन वितरण सुरु गरेको थियो । त्यसबेला समाजले करिब १३५० अति विपन्न परिवारलाई घरघरमै पुगेर खाद्यान्न वितरण गरेको थियो ।

समाजले विभिन्न समाजिक अभियान, जनचेतनामुलक कार्यक्रम र विकास निर्माणका कार्यहरु गर्दै आएको केसीले बताए । ‘हामीले बोजेपोखरीको ससरफाई गर्दै यसलाई पर्यटकीय स्थलको रुपमा विकास गरेका छौं’, केसीले भने ।

समाजले बेवारिसे कुकुरहरुलाई खाना खुवाउने, कोभिड सम्बन्धी जनचेतना मुलक कार्यक्रम गर्ने, नगरभित्र सेनिटाइजर गर्ने, सुरक्षाको विधि कसरी अपनाउने भनि माइकिङ र पम्पेलिटिङ गर्ने, माक्स बाड्ने, समाजिक दुरी कायम गराउन लगाउने आदि जस्ता कार्यहरु गर्दै आएको छ ।