देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तीन खेल अगावै सिटीले जित्याे प्रिमियर लिगकाे उपाधि

देशान्तर

इंग्लिस प्रिमियिर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ ।

मंगलबार राति भएको खेलमा लिसेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गरेपछि सिटीले तीन वटा खेल बाँकी छदैं उपाधि पक्का गरेको हो ।

शीर्ष स्थानमा रहेको सिटीको ८० अंक रहेको छ भने पराजित भएको म्यानचेस्टर युनाइटेडको ७० अंक रहेको छ । अब बाँकी रहेका तीन खेलमा सिटी पराजित भए पनि र युनाइटेडले तीन वटै खेल जिते पनि एक अंकले अघि रहँदै सिटीले प्रिमियर लिगको उपाधि उचाल्ने छ । सिटी चार वर्षको अन्तरमा तेस्रो पटक च्याम्पियन पनि बन्न सफल भयो ।

ओल्ड ट्राफोडमा सन् १९९८ पछि पहिलोपल्ट युनाइटेडलाई पराजित गरेको लिसेस्टरले यो सिजन च्याम्पियन्स लिग छनोटको लक्ष्यमा महत्वपूर्ण सफलता हासिल गरेको छ । ६६ अंकसहित लिसेस्टर तेस्रो स्थानमा उक्लिएको छ ।

क्याग्लर सोयुन्कुले दोस्रो हाफमा गरेको निर्णायक हेड गोलले लिसेस्टरका प्रशिक्षक ब्रेन्डन रोजर्सको मुहारमा हासो मात्र ल्याएन सिटीका प्रशिक्षक पेप ग्वार्डिओलालाई पनि उत्साहित बनाउन मद्दत गर्‍यो ।

GHCA Ads
Image
१९ वर्षीय लुक थोमसले १० औं मिनेटमै गोल गरेपछि पाहुना टोलीले अग्रता लिएको थियो । तर मासोन ग्रिनउडले पाँच मिनेटपछि नै बराबरी गोल फर्काउन सफल रहे ।

सिटीले इंग्लिस फुटबलको शीर्ष डिभिजनको उपाधि जितेको यो समग्रमा सातौंपल्ट हो भने पछिल्लो ९ वर्षमा पाँचौंपल्ट हो ।
५० वर्षीय प्रशिक्षक ग्वार्डिओलाले सन् २०१६ मा सिटीको जिम्मेबारी संहालेयता ८ घरेलु उपाधि जितेका छन् । सिटीले गत शनिबार नै घरेलु मैदानमा उपाधि जित्ने अवसर पाएको थियो । तर त्यस खेलमा चेल्सीसँग २–१ ले पराजित रह्यो ।

प्रिमियर लिगको उपाधि ओल्ड ट्राफोटमा निर्णायक भएको यो छैटौंपल्ट हो । र, अन्य कुनै रंगशालामा भन्दा धेरै हो ।
सिटीले दुई साताको बीचमा दुई उपाधि जितेको छ । यसअघि उसले टोटनह्यामलाई हराएर लिग कपको उपाधि जितेको थियो । मे २९ मा सिटीले चेल्सीसँग च्याम्पियन्स लिग फाइनल खेल्दैछ ।

सन् २००८ को सेप्टेम्बरमा आबुधावी समूहले सिटीको स्वामित्व किनेयता १२ उपाधि जितेको । उनीहरुले मे २३ मा एभर्टनसँग हुने लिगको अन्तिम खेल पछि प्रिमियर लिग उपाधि उचाल्नेछन् । त्यस खेलमा १० हजार समर्थकले प्रवेश पाउनेछन् ।