काठमाडौँ । वैशाख कृष्ण औँसी अर्थात् आमाको मुख हेर्ने औँसीका दिन दिवङ्गत आमाको सम्झनामा राजधानीको पश्चिमी भेगस्थित चन्द्रागिरी नगरपालिका वडा नं.–६ थानकोट नजिकैको मातातीर्थमा लाग्ने मेला स्थगित गरिएको छ । यस वर्ष वैशाख २८ गते मङ्गलबार आमाको मुख हेर्ने औँसी परेको छ ।
नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण बढ्दै गएपछि यसबाट बच्न मातातीर्थ मेला स्थगित गरिएको चन्द्रागिरी नगरपालिकाले जनाएको छ । प्रत्येक वर्ष आमाको मुख हेर्ने दिन मातातीर्थमा हजारौँ भक्तजनको ओइरो लाग्ने गर्छ । गतवर्ष पनि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी गरिएकाले मेला स्थगित गरिएको थियो ।
आमा नहुने नरनारी औँसीका दिन बिहानै उक्त तीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजा गर्ने गर्थे । यस वर्ष स्थानीयवासीलाई पनि मातातीर्थमा नजान सूचित गरिएको नगरप्रमुख घनश्याम गिरीले राससलाई जानकारी दिए ।
मातातीर्थ संरक्षण समितिले गर्ने नित्य पूजा भने हुने नगरपालिकाले जनाएको छ । घर घरमै बसेर जीवित आमालाई खुसी बनाउने र मृत आमाका नाममा श्रद्धा प्रकट गर्न सकिने धर्मशास्त्रविद्को भनाइ छ । मातातीर्थको परिसरमा मूर्तिकार रामकृष्ण भण्डारीद्वारा निर्मित सबैकी आमाको प्रतीक ‘साझा आमा’ को मूर्ति पनि स्थापना गरिएको छ । यो मूर्तिले पनि मातातीर्थको महत्व बढाएको छ ।
मातातीर्थको उत्पत्तिका सम्बन्धमा प्रचलित कथाअनुसार धेरै वर्षपहिले त्यस ठाउँमा गाईवस्तु चराउने चौर थियो । एकदिन एउटा गोठालाले सो चौरमा फ्याँकेको रोटीको टुक्रा हरायो । उसले अचम्म मानी रोटीको अर्को टुक्रा पनि फ्याँक्यो, त्यो पनि हरायो । अरू गोठालाहरूले पनि रोटीका टुक्रा फ्याँके, तिनमध्ये आमा जीवित हुनेले फ्याँकेका रोटी त्यहीँ रही आमा नहुनेले फ्याँकेका रोटीमात्र अलप भए ।
कथाअनुसार पहिलोचोटि रोटी फ्याँक्नेकी आमा पनि थिइनन् । त्यो दिन वैशाख कृष्णपक्षको औँसी थियो । दोस्रो दिन भने अघिल्लो दिनको जस्तो रोटी हराएन । सो कुरा चाल पाई गाउँलेहरूले औँसीको दिन मृत आमाहरू त्यस ठाउँमा आई आफ्ना छोराछोरीले दिएको चिज खाँदा रहेछन् भन्ने विश्वास गरेर त्यस ठाउँमा कुण्ड बनाई त्यसको नाम मातातीर्थ राखे ।
यसरी हरेक वर्ष वैशाख कृष्ण औँसीकै दिन आमा नहुनेहरूले त्यहाँ गई कुण्डमा नुहाएर मीठामीठा खाद्यपदार्थ चढाई मातृदिवस मनाउन थाले र मातातीर्थ मेला लाग्न थाल्यो । यसैले वैशाख कृष्ण औँसीलाई मातातीर्थ औँसी समेत भनिन्छ । आमाको महत्वलाई संस्कृतका विभिन्न श्लोकहरूमा यसरी वर्णन गरिएको छ– ‘मातृदेवो भव, पितृदेवो भव, आचार्यदेवो भव’ अर्थात् आमा, बाबु र गुरुलाई देवता जस्तै सम्मान गर ।
‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’ अर्थात् छोरा छोरी नराम्रा भए भने पनि आमाले सबैलाई सन्तानका रुपमा माया गर्छिन् । आमा प्रत्येक मानिसका पहिलो शिक्षिका अर्थात् गुरुआमा समेत हुन्छिन् । बालबालिकाले आमाबाटै धेरै कुरा सिक्छन् । बन्दाबन्दीका कारण छोरा छोरी आमा भएका स्थानमा पुग्न नसकेपनि वचनबाट पनि खुसी राख्न सकिने शास्त्रीय मान्यता समेत रहेको छ ।
कोरोनाबाट बच्न जारी निषेधाज्ञाका कारण छोराछोरी आमा भएको स्थानमा जान सक्ने अवस्था पनि छैन । यसैले फोन, सामाजिक सञ्जाललगायत माध्यमबाट आमाप्रति सम्मान प्रकट गर्नुपनि शास्त्रसम्मत हुने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए ।
प्रतिक्रिया