देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना उपचारका लागि १२ अस्पताल र ५४ आइसीयू थप

देशान्तर

काठमाडौं -सरकारले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि स्वास्थ्यको भौतिक पूर्वाधार थप्ने क्रम जारी राखेको छ ।

सरकारले कोरोना संक्रमणको दोस्रो लहर बढेपछि कोभिड–१९ व्यवस्थापनका लागि लक्षित कार्ययोजनानुसार अस्पताल र शय्या थप्ने गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का प्रवक्ता किरणराज आचार्यले विज्ञप्ति जारी गर्दै कार्ययोजनानुसार नै संक्रमणको रोकथाम, उपचार र नियन्त्रणका लागि अस्पताल र शय्या थप गरिएको जानकारी दिए ।

उनका अनुसार १२ अस्पताल, ५४ सघन उपचार कक्ष, १२ हाई डिपेन्डेन्सी युनिट र ५ भेन्टिलेटर थप गरिएको छ । नयाँ थपसँंगै अहिले अस्पताल ५०५, आइसीयु १ हजार ८७१, भेन्टिलेटर ७४१, एचडीयु २ हजार ८७७ र शय्या २० हजार ३६४ पुगेका छन् ।

प्रवक्ता आचार्यका अनुसार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट काठमाडौँ उपत्यकामा तीन टोली परिचालन गरी बजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा छ पसललाई जरिवाना गरिएको छ ।

यस्तै उनले खोप, स्वास्थ्य उपकरण तथा सामग्री वस्तुगत सहायतास्वरुप उपलब्ध गराइदिन चीन, जापान र गणतन्त्र कोरियाका नेपालस्थित दूतावासलाई समेत अनुरोध गरिएको जानकारी दिए ।