देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्रीले संसदमा आज विश्वासको मत लिने

देशान्तर

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् । सरकारको सिफारिसमा एक साताअघि नै राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वासको मत लिने प्रायोजनका लागि संसद बैठक आह्वान गरिसकेकी छन् ।

आज दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठकमा विश्वासको प्रस्तावमा मतदान हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट हिजो नै विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भइसकेको छ ।

नेकपा विघटन र एमालेभित्रकै आन्तरिक कलहका कारण सत्ता संकटमा परेका बेला ओलीले विश्वासको मत लिने निर्णयमा पुगेका हुन् । संसदबाट विश्वासको मत लिन निर्णायक मतका रुपमा नेकपा एमालेकै माधव नेपाल पक्षीय सांसदहरु देखिएका छन् ।

आन्तरिक विवाद समाधानका लागि एमाले नेताहरु दिन रात प्रयासरत छन् । पछिल्लो समयमा माग पूरा गरी सहमतिका लागि माधवपक्षले संस्थापन पक्षलाई आज विहान ९ बजेसम्मको अल्टिमेटम दिएको छ ।

प्रतिनिधिसभामा नेकपा एमालेका १ सय २१, नेपाली कांग्रेसका ६३, नेकपा माओवादी केन्द्रका ५० र जनता समाजवादी पार्टी (जसपा)का ३४ सांसद छन् ।

नेपाली कांग्रेस र माओवादीले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ भने जसपाकाे महन्थ ठाकुर पक्ष तथस्ट बस्ने भएको छ । संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले भने विपक्षमा मतदान गर्ने भएकाे छ ।

विश्वासको मतका लागि ओली सरकारलाई कम्तिमा १ सय ३४ मतको आवश्यकता पर्नेछ ।

एमालेले सांसदहरुलाई पक्षमा मतदान गर्न ह्वीप जारी गरे पनि माधव नेपाल पक्षीय केहि सांसदबाट फ्लोर क्रस हुनसक्ने वा मतदानअघि नै राजीनामा हुनसक्ने सम्भावना छ ।