बितेको साता अर्थात् ५ मे कार्ल माक्र्सको २०३ औं जन्मजयन्ती परेको थियो । उनको जन्मजयन्तीलाई नेपालका कथित माक्र्सवादीहरूले सम्झिन भ्याएनन् । किनकि त्यसका लागि नेपालका कमरेडहरूलाई फुर्सद नै थिएन । अरू जरुरी काममा भ्याइनभ्याइँ थियो ।
देश कोभिड–१९ को दोस्रो चरणको डरलाग्दो लहरको महामारीमा डुवेको छ, दिनदिनै हजारौं नागरिक कोभिड संक्रमित भइरहेका छन्, दर्जनौं नागरिक कोभिडबाट मर्दैछन्, मान्छेले अक्सिजन र उपचार नपाएकै कारण अनाहकमा ज्यान गुमाउनु परेको छ । कोभिडका बिरामीका लागि बेड, भेन्टिलेटर, अक्सिजन अभाव छ । खोपको व्यवस्था हुनै सकेको छैन । यतातर्फ सरकार संवेदनशील भएर लागेको छ, त्यस कारणले माक्र्सको जन्मजयन्ती उनीहरूलाई यादै भएन अथवा मनाउन भ्याउँदै भ्याएनन् । त्यसैले कमरेडहरूले आफ्ना महान् राजनीतिक गुरु कार्ल माक्र्सको जन्मजयन्ती मनाएनन्, यस्तो भइदिएको भए कति राम्रो हुन्थ्यो । तर त्यस्तो हुँदै होइन ।
स्वास्थ्य सामग्रीमा कमिसन खानु प¥यो, मान्छे मरे मरुन्– कोरोनाको खोपमा कमिसन नखाई भएको छैन । कमिसनकै कुरा नमिलेर महिनौंदेखि खोप आउन सकेको छैन । कोरानाका बिरामीलाई अक्सिजन अभाव छ, हस्पिटलमा बड छैन के भो त पहिले कुर्सी नजोगाई भाछैन, माधव नेपाललाई तह नलगाई भाछैन, ओलीलाई जसरी पनि कुर्सीबाट नझारी भाछैन । अनि कसरी माक्र्सलाई सम्झनु ! अनि कसरी कोरोना महामारी नियन्त्रणमा लाग्नु ! कठै कमरेडका दुःख !
यहाँ अहिले कार्ल माक्र्सको जन्मजयन्तीमा उनको महिमा मण्डन गर्न खोजिएको हैन । यस सन्दर्भमा गएको हप्ता मित्र जुगल भुर्तेलजीको ‘कार्ल माक्र्सको जन्म दिन रहेछ । केही लेखुँ जस्तो नलागेको होइन तर नेपाल, भारत, रूस, चीन र संसारैभरिका एकसे एक ‘विशुद्ध’ माक्र्सवादीहरूले सत्ताभित्र र बाहिर दुवै ठाउँबाट निरन्तर प्रयोग त्यो दर्शनको श्रेष्ठता प्रमाणित गरिसकेको हुँदा अब केही लेख्नु परेन ।’ भनेर ट्विट गरिसके पछि माक्र्सका बारेमा थप लेखिरहनु नपर्ने अनुभूति भयो ।
फेरि दुनियाँले डेढ सय वर्षसम्म माक्र्सको महिमा खुबै सुन्यो । उनकै नामबाट ९० को दशक अगाडिसम्म कम्युनिस्ट सत्ताले झन्डै आधा दुनियाँ पिटेको थियो । माक्र्सकै नाममा संसारभर करोडौं मानिसको ज्यान गयो । माक्र्सकै नाममा अमूल्य मानव सभ्यता र धार्मिक एवं सांस्कृतिक धरोहरहरू ध्वस्त पारिए । तर कार्ल माक्र्स बितेको १३८ वर्षपछि पनि दुनियाँका कम्युनिस्टहरूले माक्र्सले परिकल्पना गरेजस्तो समाजवाद स्थापना गर्न सकेनन् । केवल उनको नाममा दुनियाँमा कम्युनिस्ट पार्टीहरू खुले, विध्वंश र नरसंहारहरू भए, जनवादका नाममा करोडौं निहत्था नागरिक मारिए, सैन्य शक्ति र छापामार विद्रोहको भरमा केही तानाशाह जन्मिए बस ! तर दुनियाँ परिवर्तन गर्न कथित माक्र्सवादीहरू पूर्ण रूपमा असफल भए । त्योसँगै माक्र्सवादी विचारधारा पनि सन्दर्भहीन बन्यो । अब लगभग यो राजनीतिक विचारधारा केवल विश्वविद्यालयहरूको अध्ययन गर्ने विषय मात्र रहन पुग्यो । अब यसको विषयमा केही लेखिरहन नपर्ने भयो ।
निभ्ने बेलाको बत्ती उज्यालो भए जस्तै दुनियाँबाट कम्युनिस्ट पतन भए पनि नेपाललगायत औंलामा गन्न सकिने देशमा कम्युनिस्ट अस्तित्वमा छन् । अलिअलि गर्जंदैछन् । नेपालका कम्युनिस्टहरूले अलि अलि ङार्रङुर्र गरेको सात दशक भयो । यो बीचमा यिनीहरूले आफ्नो बुतामा एउटै क्रान्ति वा संघर्ष गर्न सकेका छैनन् । नेपाली कथित माओवादीले गरेको भनिएको १० वर्षे सशस्त्र विद्रोह कसको स्वार्थ र डिजाइनमा भएको थियो भन्ने कुरा पनि यस बीचमा छर्लंग भइसकेको छ । प्रचण्ड आदिले क्रान्तिको धक्कु दिनुको अब कुनै अर्थ छैन । पञ्चायतकालमा कांग्रेसलाई सिध्याउनकै लागि कम्युनिस्टलाई पोस्ने काम भएको थियो । त्यसले कम्युनिस्टलाई अलिकति शक्तिशाली बनायो, त्यसैले त २०१५ सालको संसदीय निर्वाचनमा केवल ४ सिट जितेका कम्युनिस्टले २०४८ को संसदीय निर्वाचनमा ६९ सिट जितेर सशक्त प्रमुख प्रतिपक्षी दलको हैसियतमा त्यसै आइपुगेका थिएनन् । २०४६ सालको आन्दोलनमा कांग्रेसले अलिकति यिनलाई पुलपुल्याएका कारण पनि केही मात्रामा यी तङ्गग्रिए ।
नेपाली राजनीतिक माटो कुनै सर्तमा पनि कम्युनिस्ट व्यवस्थाको लागि उपयुक्त होइन । नेपालको परम्परागत वैदिक सनातन धर्म र संस्कृति र भूराजनीतिक अवस्थितिको कारणले पनि कम्युनिस्टका लागि अनुकूल भूमि नेपाल हुँदै होइन । विश्व कम्युनिस्ट आन्दोलनको एउटा हिस्साको रूपमा नेपालका कम्युनिस्ट पार्टीहरू रहे तापनि यिनले नेपालमा खासै प्रभाव राख्न सकेका थिएनन् । जव नेपालका कम्युनिस्ट शक्तिलाई छिमेकीहरू आफ्नो रणनीतिक स्वार्थमा प्रयोग गर्न थाले उनीहरू १० वर्षसम्म सशस्त्र हिंसात्मक विद्रोह गरेर आफ्नो राजनीतिक हैसियत स्थापित गर्न सक्ने ठाउँमा आइपुगे । कम्युनिस्टलाई छिमेकीले रणनीतिक प्रयोग, कांग्रेसको विफलता, राजतन्त्रको समाप्ति आदि कारणले नै पछिल्लो निर्वाचनमा दुई कम्युनिस्ट पार्टी मिलेर चुनाव लड्दा झन्डै दुई तिहाइ नजिक बहुमत ल्याउन सकेका हुन् ।
१० वर्षीय कथित माओवादी विद्रोहलाई जसजसले, जे उद्देश्यले सघाएका थिए, प्रयोग गरेका थिए सम्भवतः अब त्यो अवस्था छैन । प्रचण्ड आफ्नै कारण पनि बाह्य तथा आन्तरिक राजनीतिक शक्ति कसैका लागि पनि विश्वासिला र भरपर्दा रहेनन्, शायद अब उनको उपयोगिता सकियो । उनलाई द्वन्द्वकालमा साथ दिएका वैद्य, बावुराम, विप्लव, बादललगायत आफ्नैले पनि साथ छोडिसकेका छन् । एक्लैले केही गर्न सक्ने सामथ्र्य नरहे पनि अरू लठुवा भएको फाइदा उठाउँदै कहिले कांग्रेसलाई त कहिले एमालेलाई च्यापेर खेल्दै आएका हुन् ।
दुई पार्टी मिलेर झन्डै दुई तिहाइ नजिक पुगेको कम्युनिस्टहरूले ५० वर्ष शासन गर्ने सपना देखिसकेका थिए, अर्को १० वर्ष जनवादी सत्ता स्थापना गर्ने उद्घोष गरिसकेका थिए । कांग्रेसको युग सकियो, कहाँ छ ? कांग्रेस भन्दै कांग्रेस होच्याउन गरिरहेका थिए तर तीन वर्ष पुग्दा नपुग्दै यी आफैं सकिंँदैछन् र कांग्रेस खोजी गर्दै हिँडिरहेका छन् ।
नेकपा (एमाले) विगत झन्डै तीन दशकदेखि संसदीय पद्धतिमा अभ्यस्त बन्दै शान्तिपूर्ण प्रजातान्त्रिक राजनीतिक मार्गबाट हिँडेर यहाँसम्म आइपुगेर देशको प्रमुख प्रजातान्त्रिक शक्ति नेपाली कांग्रेसको सशक्त वैकल्पिक शक्ति बन्दै थियो । एमालेभित्र अब कम्युनिस्ट पार्टीको विश्वव्यापी लोगो हँसिया र हथौडा अंकित रक्तरञ्जित झन्डा र नाम परिवर्तन गरेर सोसल डेमोक्रेटिक पार्टीको रूपमा परिवर्तन गर्ने मुद्दा जबरजस्त उठिसकेको थियो । एउटा राजनीतिक सम्भावना भएको पार्टीलाई प्रचण्ड र ओलीको राजनीतिक महत्वाकांक्षाले अब उठ्नै नसक्ने गरी ध्वस्त वनायो ।
नेपाली कांग्रेसले पनि पटकपटक जनताले दिएको जनमतलाई सम्मान गर्न नसक्दा, घर झगडालाई व्यवस्थापन गर्न नसक्दा जनताबाट दण्डित भएको हो । तर नेकपा तीन वर्ष सत्ता चलाउन नै सकेन, तीन वर्ष अन्तरपार्टी संघर्ष गरेर नै खेर फाल्यो । सत्ताका लागि कांग्रेसभन्दा निकै अगाडि सरेर संविधान र कानुनको पर्वाह नगरी अलिकति राजनीतिक चरित्र र नैतिकता देखाउन सक्थ्यो, सत्ता त आउँछ जान्छ, यसलाई सामान्य लिन सक्थ्यो, तर कुनै पनि सर्तमा सत्ताबाट हट्न नहुने सर्तमा संविधान र कानुनलाई लत्याउँदै चरम अनैतिक, लज्जाजन खेलमा घिनलाग्दो राजनीतिक खेलमा उत्रिए कि कोरोनाको चरम महामारी पनि देख्न सकेनन् । पार्टी नेतृत्वको हर्कतबाट विरोधी दलका कार्यकर्ता मात्र होइन कि उनकै सत्तारूढ दलकै कम्युनिस्ट कार्यकर्तासमेत शरमले शिर झुकाएका छन् । नेतृत्वको घिनलाग्दो राजनीतिक चरित्रबाट अवाक भएर स्वयं एमालेबाट जितेका दुई जना प्रदेशसभा सदस्यले सदस्य पद मात्र हैन पार्टी नै परित्याग गर्नु कम्ता मर्मस्पर्शी कुरा हैन ।
जे जे कारणले भए पनि पछिल्लो तीनै तहको निर्वाचनमा नेपालका कम्युनिस्टलाई अभूतपूर्व सफलता मिलेको थियो । देश जनताको पक्षमा गरेर देखाउने ठूलो दुर्लभ अवसर प्राप्त भएको थियो । तर त्यो अवसरलाई सदुपयोग गर्नबाट नेपालका कम्युनिस्ट शक्ति विशेष गरेर माओवादी केन्द्र र नेकपा एमाले मिलेर बनेको नेकपा पूर्ण रूपमा चुक्यो, सर्वाेच्च अदालतको आदेशले ती दुई कम्युनिस्ट पार्टीको एकतालाई अवैधानिक घोषणा गरिदिए त्योसँगै नेकपा विघटितसमेत हुन पुग्यो ।
सर्वाेच्च अदालतको फागुन २३ को आदेशले एमाले र माओवादी केन्द्र ब्यँुतिएपछि सबै आफ्ना सिनियर साथीले छोडेपछि एक्ला बनेका प्रचण्डका विरुद्ध हाललाई उनको नेतृत्वलाई चुनौती दिने कोही छैन तर एमालेभित्रको चरम द्वन्द्व फुटको मुखमा पुगेको अवस्था छ । ओलीलाई विश्वासको मत पुर्याउने नाममा एकताको झिनो प्रयास भए तापनि यी दुई गुटको मिलन त्यति सहज देखिंँदैन । ओलीको तीन वर्षको कुशासन, असफलता र चरम भ्रष्टाचार र पछिल्लो कोभिड महामारी गरेको अपराधले अब नेपाली जनतामा कम्युनिस्ट भनिनेहरूप्रति नै पूरै मोह भंग भएको छ ।
प्रधानमन्त्री ओलीले भोलि वैशाख २७ गते संसद्बाट विश्वासको मत प्राप्त गर्न सकुन् वा नसकुन् तर नेपाली जनताबाट कम्युनिस्ट भन्ने जात र प्रधानमन्त्री ओलीप्रति पूरै विश्वास टुटिसकेको छ ।
२०७८ वैशाख २६ गते प्रकाशित देशान्तर साप्ताहिकबाट
प्रतिक्रिया