काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठक दिउँसो एक बजे संघीय संसद भवनको ल्होत्से हलमा बस्दैछ ।
समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिउँसो १ बजे बोलाइएको विशेष अधिवेशनको तयारी र सम्भावित कार्यसूचीबारे छलफल हुने संसद सचिवालयले जनाएको छ ।
संसद सचिवालयले वैशाख २२, २३ र २४ गते गराएको पीसीआर परीक्षणमा २६ जना सांसद र १४१ जना कर्मचारीहरुलाई संक्रमण पुष्टि भएको थियो । दुईजना सांसदहरुको पीसीआर परीक्षण रिपोर्ट भने आउन बाँकी रहेको सचिवालयले जनाएको छ ।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा वैशाख २७ गते नै विश्वासको मतमा मतदानको मिति कहिले तोक्ने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री पदमा कायम रहन प्रधानमन्त्री केपी शर्मा ओलीले १३६ सांसदको समर्थन लिनुपर्छ । २७५ सदस्य रहेको प्रतिनिधिसभामा नेकपा एमालेको १२१ सिट छ ।
यसैगरी नेपाली कांग्रेसको ६३, नेकपा माओवादी केन्द्रको ४९ पार्टी छाडेका ४ जना पदमुक्त भएपछि, जनता समाजवादी पार्टीका ३४, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा र स्वतन्त्र सांसद १–१ सांसदहरु छन् । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका २–२ जना सांसद निलम्बित छन् ।
प्रतिक्रिया