काठमाडौँ – केही दिनदेखिको वार्ता र छलफल कुनै निष्कर्षमा पुग्न नसकेपछि अन्तत : नेकपा एमालेको माधव नेपाल समूहका सांसदहरुले आइतबार राजीनामा दिने भएका छन् । माधव नेपाल- झलनाथ खनाल समूहका नेता र सांसदहरुको बैठकले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटीमात्र गर्न खोजेको र जति प्रयास गर्दा पनि सहमति हुन नसकेको भन्दै राजीनामा दिने निर्णय गरेको पार्टी स्रोतले बताएको छ ।
प्रधानमन्त्री ओलीले २७ गते सोमबार विश्वासको मत लिनका लागि संसद बैठक बोलाएका छन् । कांग्रेस र माओवादीले ओलीलाई विश्वासको मत नदिने निर्णय यसअघि नै गरिसकेका छन् । प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ निर्वाचित नेपाल समूहका २० जना सांसदले राजीनामा गरेपछि ओलीले विश्वासको मतमा बहुमत पाउने संभावना छैन ।
माधव समूहका सांसदले राजीनामा गर्नासाथ संसदमा कायम सांसद संख्या घट्न गइ वैकल्पिक सरकार बन्ने सम्भावना पनि जीवित हुनेछ । नेपाल समूहका एक नेताका अनुसार सुरुमा प्रतिनिधिसभामा प्रत्यक्ष तर्फका सांसदले मात्रै राजीनामा गर्ने कुरा भए पनि आइतबार समानुपातिक तर्फका सांसदले पनि राजीनामा गर्ने सम्भावना छ । नेपाल समूहमा ३५ जना सांसद छन् ।
प्रतिक्रिया