काठमाण्डौ– प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने दिन नजिकिँदै गर्दा राजनीतिक दलहरुको दौडधुप तीव्र भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्रलगायत दलहरु प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनबाट असफल बनाउने प्रयासमा लागिरहेका छन् ।
कांग्रेसले पदाधिकारी बैठकमार्फत नै प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने प्रस्ट पारिसकेको छ भने माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
कांग्रेस र माओवादी केन्द्रका नेताहरु अरु विपक्षी दललाई समेत आफ्नो कित्तामा ल्याउने प्रयासमा सक्रिय भएका छन् । अविश्वासको मतका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेको खनाल- नेपाल समूह आन्तरिक छलफलमा जुटिरहेका छन् ।
एमालेभित्रको आन्तरिक द्वन्द्व कारण प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन सक्ने वातावरण कमजोर बन्दै गएको छ ।
शीर्ष नेताहरु आ–आफ्नै अडानमा रहेकै समयमा दोस्रो तहका नेताहरु समाधानका लागि पटक-पटक छलफलमा जुटे पनि समस्याको निकास निस्कन सकेको छैन ।
हिजो मात्रै एमाले अध्यक्ष ओली समूहका नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ, विष्णु रिमाल र नेपाल समूहबाट सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, योगेश भट्टराई र गोकर्ण विष्टबीच छलफल भएको थियो ।
प्रधानमन्त्री ओलीले पर्सि सोमवार प्रतिनिधिसभाको विशेष अधिवेशनमार्फत विश्वासको मत लिँदै छन् ।
प्रतिक्रिया