देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्वास्थ्य मन्त्रालयले भन्यो- थप कोभिशिल्ड खोप किन्ने अवस्था छैन

देशान्तर

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को खोप प्राप्त गर्नका लागि कूटनीतिक प्रयास भइरहेको जनाएको छ । मन्त्रालयले सरकारले खरीद गरेको खोप आउने क्रममा रहेको जनाउँदै कूटनीतिक र अन्य माध्यमबाट समेत खोप ल्याउने प्रयास भइरहेको जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विज्ञप्ति जारी गर्दै ‘कोभिशिल्ड’ खोप खरीदका सम्बन्धमा आएका समाचारमा कुनै सत्यता नभएको जनाउँदै विश्वको अहिलेको विषय परिस्थिति र ‘कोभिशिल्ड’ उत्पादक भारतको सेरम इन्स्टिच्युट अफ इण्डियाले कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध भएकाले आपूर्तिमा समस्या भएको जानकारी दिएको बताए ।

उनले क्षमता विस्तार हुनेबित्तिकै नेपालले खरीद गरेको १० लाख मात्रा खोप आउने जानकारी दिए । नेपालले उक्त कम्पनीसंँग २० लाख मात्रा खोप खरीदका लागि सम्झौता गरे पनि १० लाख मात्रा मात्र नेपाल आएको छ । सो खोप प्रतिमात्रा चार डलरका दरले खरीद गरिएको थियो ।

विज्ञप्तिमा उनले नेपालले हाल ५० लाख मात्रा ‘कोभिशिल्ड’ खोप खरीद गर्ने अवस्था नरहेको समेत जनाए । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा भारतपछि नेपालले खोप अभियान शुरु गरेको थियो । डा गौतमका अनुसार नेपालमा अहिलेसम्म २० लाख ९१ हजार ५११ जनाले पहिलो र तीन लाख ६२ हजार एक जनाले पहिलो र दोस्रो मात्राको खोप लगाइसकेका छन् ।