देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

६ गतेकाे उप निर्वाचनका लागि उम्मेदवारकाे मनाेनयन आज

देशान्तर

जेठ ६ गते हुने राष्ट्रिय सभा उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन आज हुँदैछ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरूले संघीयता विज्ञ खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाएका छन् ।

देवकोटा उम्मेदवारी दर्ताका लागि आज बागमती प्रदेशको राजधानी हेटौंस्थित निर्वाचन अधिकृतको कार्यालय जानु हुनेछ । बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्वाचन आयोगले दिएको छ ।

उम्मेदवारको नामावली आजै प्रकाशन गर्ने आयोगको तयारी छ । नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा भएको निर्वाचनमा बागमती प्रदेश अन्य समूहतर्फबाट रामबहादुर थापा बादल यहीबाट निर्वाचित भएका थिए ।

उनी नेकपा एमालेको केन्द्रीय सदस्य भएपछि माओवादीले कारवाही गरेको थियो । कारवाहीपछि रिक्त एक राष्ट्रिय सभा सदस्य पदका लागि उपनिर्वाचन हुन लागेको हो । गृहमन्त्री बादललाई नै नेकपा एमालेले उम्मेदवार बनाउने तयारी गरे पनि निर्णय गरिसकेको छैन ।

हिजो बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले मतको आँकलन गरेर उम्मेदवारी दिइने र पार्टीका उम्मेदवारलाई जिताउने निर्णय गरे पनि उम्मेदवारी कसले दिने भन्ने टुंगो लगाएको थिएन ।

केही समयअगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले बादललाई नै उठाउने र जिताउने बताएका थिए । यो निर्वाचनका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् ।