देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सात धनी औद्योगिक राष्ट्रका विदेश मन्त्रीहरू लन्डनमा

देशान्तर

लन्डन – विश्वका प्रमुख सात धनी औद्योगिक राष्ट्रहरु (जी-७) का विदेश मन्त्रीहरुको दुई वर्षभन्दा बढी समयको अन्तरालपछि मङ्गलबार पहिलो पटक लन्डनमा प्रत्यक्ष भेटवार्ता भएको छ । आयोजक राष्ट्र बेलायतले रसिया, चीन र इरानका पछिल्ला कदमहरूले सबैजसो प्रजातान्त्रिक समाज र अन्तर्राष्ट्रिय कानुनी शासनमाथि गम्भीर प्रश्न खडा गरिरहेको चेतावनी दिएको छ ।

बेलायतका विदेश मन्त्री डोमिनिक राबले यस बैठकले कुटनीति पुरानै लयमा फर्किएको भन्दै खुशी व्यक्त गरे । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले राष्ट्रपति जो बाइडेनले प्रशासन सम्हाले लगत्तै संयुक्तराज्य अमेरिकाका परम्परागत गठबन्धनलाई पुरानै लयमा फर्काइएको बताए । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका एकलकाँटे नीतिले अमेरिका नै एक्लिएको निष्कर्षमा बाइडेन प्रशासन पुगेको उनको भनाई थियो ।

विदेश मन्त्री ब्लिन्केनले जी-७ का मुलुकहरुले चीनसँग प्रतिस्पर्धात्मक क्षमता बढाउनु पर्नेमा पनि जोड दिए । दुई दिने यस बैठकमा जी-७ मा आबद्ध मुलुकहरु बेलायत, अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटाली र जापानका विदेश मन्त्रीहरु सहभागी भएका छन् । यस बैठकमा म्यानमारमा भएको सैन्य विद्रोह, सिरियाको मानवीय सङ्कट, इथियोपियाको टिग्रीको सङ्कट तथा अफगानिस्तानको मानवीय सङ्कटका बारेमा पनि छलफल हुनेछ ।

साथै, बेलायती विदेश मन्त्रालयका अनुसार बैठकमा रसियाले युक्रेनका सीमा क्षेत्रमा बढाएको सैन्य गतिविधि र विपक्षी नेता अलेक्सी नाभाल्नीलाई थुनामा राखिएको विषयमा पनि छलफल हुनेछ । सन् २०२१ का लागि जी-७ समूहको अध्यक्षता गरेको बेलायतले बैठकमा अस्ट्रेलिया, दक्षिण कोरिया, भारत र दक्षिण अफ्रिकाका विदेश मन्त्रीहरुलाई पनि आमन्त्रण गरेको थियो । प्रधानमन्त्री बोरिस जोन्सनले आगामी जुन महिनामा हुने जी-७ समूहका नेताहरुको बैठक आयोजना गर्नेछन् ।