देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

समर्थन फिर्ताको पत्रमा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’को प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोप

देशान्तर

काठमाडौँ– नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा बुझाएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई समर्थन फिर्ताको पत्र बुझाएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन दिएको ३८ महिनापछि माओवादीले समर्थन फिर्ता लिएको हो।

समर्थन फिर्ताको पत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोप लगाएका छन् । कोरोनाको दोस्रो लहरसँग जुझ्ने सन्दर्भमा असक्षमता प्रदर्शन गरेको र राष्ट्रियताको मुद्दालाई सौदावाजीको विषय बनाएको आरोप प्रचण्डको छ ।

‘प्रधानमन्त्री के।पी। शर्मा ओली नेतृत्वको वर्तमान सरकारले संविधानको ठाडो उल्लंघन गरी प्रतिगामी योजना अघि बढाइरहेको, लोकतान्त्रिक मूल्य मान्यता एवं राजनीतिक नैतिकताको धज्जी उडाउँदै राजनीतिलाई सत्ताको फोहोरी खेलको रुपमा निक्रिष्ट ढंगबाट सञ्चालन गरिरहेको, निर्वाचनमा जनताले दिएको जनादेशविपरीत सामाजिक न्यायसहितको समृद्धि एवं समाजवादको आधार निर्माण गर्ने लक्षलाई ध्वस्त बनाएको, नेपाली कम्युनिष्ट आन्दोलनलाई क्षत विक्षत बनाउने उद्देश्यका साथ विसर्जनवादी आक्रमण गरेको, कोरोनाको दोस्रो लहरसँग जुझ्ने सन्दर्भमा नालायकी एवं असक्षमता प्रदर्शन गरेको र राष्ट्रियताको महालाई सौदावाजीको बिषय बनाई देशलाई बाह्य शक्तिको क्रिडास्थल बनाउदै लगिरहेको तथा लोकतान्त्रिक र संसदीय मान्यताविपरीत अध्यादेशबाट शासन चलाउने निरंकुश अभ्यासतिर उद्धत हुँदै गइरहेको छ,’ पत्रमा भनिएको छ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ । प्रतिनिधिसभामा माओवादी केन्द्रका ५० सांसद छन् ।

सरकारले भने माओवादीले समर्थन फिर्ता लिनुअघि नै विश्वासको मत लिने निर्णय गरिसकेको छ । २७ वैशाखमा विश्वासको मत लिने सरकारको तयारी छ ।