देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर उपलब्ध गराउने

देशान्तर

काठमाडौँ – चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर उपलब्ध गराउने भएको छ । ती सिलिन्डरलाई चाँडो काठ्माडौं ल्याउने तयारी सुरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हवाइ र स्थल मार्गबाट ती सिलिन्डर झिकाउने प्रयास भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए ।

यसैसाता दक्षिण एसियाली मुलुकका पाँच विदेशमन्त्रीसँगको छलफलमा चीनले क्षेत्रीय सहकार्यसहितका विषयमा नेपाललाई अक्सिजन सिलिन्डर उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो ।

कोरोनाभाइरसको नयाँ भेरिएन्टको संक्रमण बढिरहेको परिस्थितीमा चीनले नेपाललाई ९ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री पनि उपलब्ध गराउने जनाइसकेको छ ।

चीनले दिने भनेको ती सिलिन्डर भित्र्याउने जिम्मा परराष्ट्र, अर्थ र स्वास्थ्य मन्त्रालयले प्राप्त गरेको पनि प्रवक्ता गौतमले जानकारी दिए । पछिल्लो समय नेपालमा पनि अक्सिजन सिलिन्डरको माग बढेपछि सरकारले सिलिन्डर होल्ड नगर्न भनेको छ ।

कोभिड संकट व्यवस्थापन केन्द्रका सचिव खगराज बरालका अनुसार सीसीएमसीको शुक्रबारको बैठकमा पनि चीनले सहयोगस्वरुप उपलब्ध गराउने भनेकामध्ये २,००० सिलिन्डरलाई जहाजबाट ल्याउने बारे छलफल भएको थियो ।

ती सबै सिलिन्डर ल्याउन ३० भन्दा बढी उडान गर्नुपर्ने भएकाले सरकारले स्थलमार्गबाटै ल्याउने तयारी थालेको हो ।