काठमाडौं– सरकारले नागरिक एपको ‘फुल भर्सन’ सार्वजनिक गरेको छ ।
सम्भव भएसम्मका सबै सरकारी सेवा एउटै एपबाट दिने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आइतबार नागरिक एप सार्वजनिक गरेका हुन् ।
गत माघ २ गते सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले यसको बेटा भर्सन सार्वजनिक गरेका थिए । बेटा भर्सनमै यो एप पाँच लाख २५ हजार भन्दा बढीले डाउनलोड गरेकोमा एक लाख ९१ हजारभन्दा बढी प्रयोगकर्ता दर्ता भइसकेको मन्त्रालयले जनाएको छ ।
तीन हजारले नागरिक एपबाटै पुलिस क्लियरेन्स रिपोर्ट प्राप्त गरेका छन् भने प्यान नम्बर लिनेको संख्या १० हजारभन्दा बढी रहेको मन्त्रालयले बताएको छ ।
डिजिटल नेपाल निर्माणको परिकल्पनाअनुसार पछिल्लो समयमा विभिन्न सार्वजनिक तथा सरकारी सेवाहरु अनलाइनमा उपलब्ध छन् । छुट्टाछुट्टै वेबसाइट तथा एप प्रयोग गर्दा झन्झटिलो हुने भएपछि एकीकृत रुपमा सेवा प्रवाह गर्न नागरिक एप ल्याएको सरकारले जनाएको छ ।
यसमा नागरिकता, राहदानी र मतदाता परिचयपत्र जस्ता नागरिकका प्रमाणित विवरणहरु छन् ।
नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषमा रहेको आफ्नो विवरण हेर्न सकिने सुविधा पनि यसमा छ । सरकारले जनताका गुनासा सुन्न सञ्चालन गरेको हेलो सरकारको सुविधा पनि छ ।
एसएलसी र प्ल(सटु तहका शैक्षिक विवरणसमेत एपमा रहनेछन् । पछिल्लो समय स्वास्थ्य बीमाको जानकारी हेर्न सकिने सुविधा पनि यसमा थपिएको छ ।
नागरिक एपको बेटा संस्करण सार्वजनिक भएदेखि नै स्थायी लेखा नम्बर लिन सकिने सुविधा रहेकोमा यसैबाट पुलिस क्लियरेन्स रिपोर्ट समेत दिन थालिसकिएको छ ।
प्रतिक्रिया