देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध आज अविश्वासको प्रस्ताव पेश हुने

देशान्तर

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्ताव प्रदेश सभामा पेश हुने भएको छ ।

आज सुरु हुने प्रदेसभाको विशेष अधिवेशनमा सो प्रस्ताव प्रस्तुत हुने प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

हिजो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विशेष अधिवेशनको एजेन्डामा छलफल भएको छ ।

मुख्यमन्त्री पोखरेलविरुद्ध यही वैशाख ६ गते अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।

अविश्वास प्रस्ताव दर्तापछि सांसदहरूले प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष विशेष अधिवेशन आह्वानका लागि समावेदन गरेका थिए ।

प्रदेश प्रमुख यादवले नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम १९ वैशाख आज दिउँसो १ बजे प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् ।

अविश्वास प्रस्ताव दर्ता गर्दा हस्ताक्षर गरेका तीनसहित चार सांसद मन्त्री भएका छन् । सरकारमा सहभागी भएका जसपाका चार सांसद पदमुक्त भएका छन् ।

मुख्यमन्त्री पोखरेललाई सत्ता जोगाउन ४१ सांसदको आवश्यकता पर्छ । ४१ सांसद एमालेकै छन्, तर पार्टीभित्रको चर्को अन्तरद्वन्द्वका कारण पोखरेलको पक्षमा ४१ मत प्राप्त हुनेमा आशंका उब्जिएको छ ।

प्रदेशसभामा एमालेका ४१, कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका दुई, जनमोर्चाका एकजना सांसद छन् ।