दाङको तुलसीपुरमा तीन बालक मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ स्याउली बजारमा रोकिराखिएको भारतीय जे ०१६६०८८५ नम्बरको कारमा तीन बालक मृत फेला परेका हुन् ।

उनीहरुलाई शनिबार राति फेला पारिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए ।
बालक मृत फेला परेको कार लामो समयदेखि त्यस स्थानमा पार्किङमा राखिएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार सोही स्थानमा अर्को गाडी पार्किङ गर्न राख्ने क्रममा शव गन्हाएको थाहा पाएपछि हेर्दा मृत बालक रहेको पाइएको हो ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गाइडहर बस्ने भीमबहादुर परियारका १० बर्षीय छोरा सन्देश परियार, सन्तोष परियारका ७ बर्षीय छोरा सुवर्ण परियार र किरण परियारका ७ बर्षीय छोरा करण परियार रहेका छन् । उनीहरु तीनै जना वैशाख १६ गते हराएको परिवारले बताएका छन् ।
घटना रहस्यमय रहेकाले अनुसन्धानका लागि नेपालगञ्जबाट कुकुरसहितको टोली पनि आएको छ । लामो समयदेखि पार्किङ गरि राखिएको गाडीमा कसरी शव फेला प¥यो भन्ने विषयमा अझै अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया