काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सङ्कटका बेला नागरिकलाई आग्रह गरिरहँदा हतास नभइ विश्वास प्रवाह गर्नु जिम्मेवार सरकारको कर्तव्य भएको जनाएको छ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत सङ्कटमा ‘अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भइसकेको’ सार्वजनिक वक्तव्यले सरकारको गैरजिम्मेवार प्रवृत्ति पुष्टि भएको बताए। कांग्रेसले युद्धस्तरमा कार्य गर्न र कोरोनाविरुद्धको सङ्घर्षमा राज्यको क्षमता विस्तार गर्न सरकारलाई आग्रह गरेको छ ।
शैया, भेन्टिलेटर, अक्सिजन प्लान्ट र सिलिन्डर आदिमा सरकारको वास्तविक क्षमता, सङ्क्रमणको विस्तार, विज्ञको अनुमान र विश्लेषण, सरकारसँग भएको बजेट, पूर्वाधार लगायतका पक्षमा योजनाबद्ध र दृढ़ ढङ्गले प्रस्तुत हुन जरुरी रहेको विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसले निजी क्षेत्रका अस्पताललाई कोरोनाविरुद्धको सङ्घर्षमा वृहत्तर सहकार्यमा कसरी गोलबन्द गर्ने, राजनीतिक दल, फ्रन्टलाइनमा रहेर कार्य गरिरहेका स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न सरकार कसरी प्रस्तुत हुने, खोपको पछिल्लो खेप आयात लगायतका विषयमा सरकार प्रष्ट, पारदर्शी, योजनाबद्धरुपमा प्रस्तुत हुनुपर्ने जनाएको छ ।
सङ्कटका बेला हरेक नागरिकको अभिभावक राज्य हुनुपर्ने जनाउँदै प्रवक्ता शर्माले परिस्थितिको गम्भीरता बमोजिम कार्य गर्न सरकारलाई सजग गराएका छन् ।
प्रतिक्रिया