पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान गर्ने बेला एकाएक सम्पर्कविहीन भएका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिमविक्रम शाही अस्पतालमा भेटिएका छन् ।
राष्ट्रिय जनमोर्चाले सरकारले आफ्ना सांसद अपहरण गरेको बताइरहेका बेला प्रदेशसभा सदस्य शाही पोखरास्थित चरक अस्पतालको कोभिड वार्डको आईसीयूमा भेटिएका छन् । उनीसँगै कांग्रेस प्रदेशसभा सदस्य मनकुमारी गुरुङ बुधबार विहान अस्पतालमा भर्ना भएको अस्पतालका निर्देशक कपिल पोखरेलले बताए ।
प्रदेशसभा सचिवालयले गरेको पीसीआर टेष्टमा शाहीको रिपोर्ट नेगेटिभ आएको थियो । तर अस्पतालमा पोजेटिभ रिपोर्ट देखाएर भर्ना भएको पोखरेलले बताए । उनले भने, ‘हामीसँग कोरोनाका ४२ बिरामी छन्, उहाँ पनि एक हो ।’ गण्डकी प्रदेशको प्रदेशसभाको बुधबार बसेको पहिलो बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा छलफल भएको थियो ।
अपराह्न साढे ४ बजे बोलाइएको प्रदेशसभाको दोस्रो बैठक शुरु हुनुअघि राष्ट्रिय जनमोर्चाकी प्रमुख सचेतक पियारी थापाले प्रदेशसभा सदस्य शाही सम्पर्कविहीन भएको भन्दै बैठक रोक्न माग गर्दै प्रदेशसभामा निवेदन दिइन् । लगत्तै सभामुखले अर्को सूचना नआउँदासम्म प्रदेशसभाको बैठक स्थगित गरे । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना रिपोर्ट नेगेटिभ भएको सांसदलाई अस्पतालमा बन्दी बनाइएको आरोप लगाएका छन् ।
प्रतिक्रिया