काठमाडौँ – पोखरामा जारी आहा रारा गोल्डकप फुटबलको फाइनलमा संकटा क्लब र अफ्रिकन रुट एसोसियसनबीच प्रतिस्पर्धा गर्दैछन् । दिउँसो २:३० बजे हुने खेलमा दुबै टिम पहिलो पटक प्रतियोगिताको उपाधि जित्ने लक्ष्यमा छन् ।
फाइनल अघि दुबै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्नका लागि खेल्ने बताएका छन् ।संकटाले पहिलो सेमिफाइनलमा एपीएफलाई २-० ले हराएर फाइनलमा स्थान पक्का गरेको हो । पटक पटक प्रतियोगितामा सहभागिता जनाए पनि संकटा पहिलो पटक फाइनल पुगेको हो ।
अफ्रिकन रुट पहिलो सहभागितामै फाइनल पुगेको हो । अफ्रिकनले दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै संकटासँगको भेट पक्का गरेको हो ।
प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतिक्रिया