काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपाली समाज फासीवादी निरंकुशतातिर जाने खतरा रहेको बताएका छन्। शुक्रबार वामपन्थी नेता स्व।माणिकलाल श्रेष्ठको श्रद्धाञ्जली सभामा बोल्दै अध्यक्ष दाहालले प्राप्त गरिएका राजनीतिक परिवर्तनहरूलाई उल्ट्याउँदै नेपाली समाजलाई फासीवादी निरंकुशतातर्फ लैजाने खतरा बढेको बताए।
देशभित्र र बाहिरका शक्तिहरू संवैधानिक निकायहरू समेतको संलग्नतामा सेटिङमा लागेको भन्दै उनले संविधान, ऐन र मूल्यमान्यताले काम नगर्ने तर सेटिङले काम गर्ने अवस्था अहिले रहेको बताए। नेपाल र नेपाली जनताको अधिकार र पहिचानविरूद्ध सेटिङ भएको पनि उनले बताए।
उनले भने, ‘समाज चरम फासीवादी निरंकुशतातिर जाने खतरा छ। हामी त्यसविरूद्ध खबरदारी गरेका छौं। अहिले तपाईं हामीले सुन्ने गरेको शब्द एउटा छ। अलि बढी नै सुन्ने गरेका छौं सेटिङ। देशभित्रका, बाहिरका विभिन्न संवैधानिक निकायका प्रमुखहरूकोबीचमा सेटिङ हुने। नियमले काम नगर्ने, संविधानले काम नगर्ने, मूल्यले काम नगर्ने, मान्यताले काम नगर्ने, ऐनले काम नगर्ने, सेटिङले काम गर्ने। त्यो सेटिङ सबै नेपाल राष्ट्र र नेपाली जनताको अधिकारविरूद्ध, पहिचानविरूद्ध परिलक्षित हुने यो बिडम्बनाको हामीले सामना गर्नुपर्ने बडो विचित्रको स्थितिमा हामी अहिले छौं।’
अध्यक्ष दाहालले वामपन्थी आन्दोलनले हासिल गरेका उपलब्धीहरूमाथि प्रहार हुन थालेको बताए। उनले वर्तमान सरकार अपारदर्शी, अराजक र भ्रष्ट हुँदै गएकाले कम्युनिष्टप्रति जनताको भरोसा टुट्ने खतरा पैदा भएको बताए।
प्रतिक्रिया