देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मेलम्चीको पानी वितरण : औपचारिक उद्घाटन आज

देशान्तर


काठमाडौंमा आज मेलम्ची पानीको औपचारिक उद्घाटन हुँदैछ ।

काठमाडौंको भृकुटीमण्डपमा बनाइएको धाराको टुटी खोलेर राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची पानीको उद्घाटन गर्नेछिन् ।

दिउँसो २ बजे राष्ट्रपति भण्डारीले मेलम्चीको पानी उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी हुनेछन् ।

यसअघि आयोजनाले २३ गते सोमवार उद्घाटन गर्ने भने पनि पानी वितरण भइसकेपछि ढिला गर्न नहुने भन्दै उद्घाटन कार्यक्रम आजका लागि राखिएको आयोजनाका प्रमुख कमलराज श्रेष्ठले बताए । काठमाडौंमा आइतवारदेखि नै मेलम्चीको पानी वितरण शुरु गरिएको छ ।

अहिलेसम्म काठमाडौंको महाङ्काल, मीनभवन र खुमलटारको ट्याङ्कीबाट पानी वितरण सुरु भएको छ ।

यसैबीच, काठमाडाैं उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर त्यस क्षेत्रमा पानी वितरण शुरु गरेको छ ।

बालाजु पोखरीमा हिजोदेखि पानी पठाउन थालिएकामा आज बिहान पाँच बजेदेखि वितरण थालिएको लिमिटेडले जनाएको छ ।

यस्तै आजदेखि नयाँबजार, सोह्रखुट्टेलगायतका ठाउँमा पनि मेलम्चीको पानी वितरण हुने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए ।