लस एन्जलस – संयुक्तराज्य अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित एक कार्यालयमा बुधबार भएको गोलीकाण्डमा एक बालक सहित चार जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गोली चलाउने व्यक्ति पनि गम्भीर रुपमा घाइते भएका छन् ।
लस एन्जलसको दक्षिणमा अवस्थित अरेन्ज नगरमा भएको यो आमहत्या दुई साताभित्रै भएको देशकै तेस्रो घटना हो । घटनास्थलमा अपराह्न ५:३० बजे प्रहरी पुग्दा सर्वसाधारणमाथि गोली चलाउनेक्रम जारी थियो, अरेन्ज नगरका प्रहरी जेनिफर अमाटले बताइन् ।
त्यसलगत्तै प्रहरीले आक्रमणकारीमाथि गोली चलाएको र उनलाई घाइते अवस्थामा अस्पताल लगिएको पनि अमाटले जानकारी दिए । घाइतेका बारेमा प्रहरीले तत्काल केही बताएको छैन, तर घटनामा एक बालक र एक महिला निकै गम्भीर रहेका जनाएको छ ।
क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूसमले ट्वीट गर्दै उक्त घटना निकै भयावह र हृदयविदारक रहेको बताएका छन् । अरेन्ज नगर लस एन्जलसबाट करिब ४८ किलोमिटर दक्षिणमा रहेको छ र यहाँ करिब एक लाख ४० हजारको बसोबास छ ।
प्रहरी अधिकृत अमाटले यस शहरमा सन् १९९७ पछि सबैभन्दा डरलाग्दो गोलीकाण्ड भएको जानकारी दिएका छन् । त्यसबखत एक ४१ वर्षीय आर्टुरो रियेज टोरेजले एक प्रहरी सहित चार जनालाई गोली हानी हत्या गरेका थिए । प्रहरी कारबाहीमा उनको पनि मृत्यु भएको थियो ।
गत साता अमेरिकाकै कोलोराडो राज्यको बाउल्डरस्थित सुपरमार्केटमा भएको गोलीकाण्डमा १० जनाको ज्यान गएको थियो भने त्यसको एक साताअघि मात्र एटलान्टाका तीन वटा मसाज पार्लरमा गोली हानेर छ जना एसियाली मुलका महिलाको ज्यान गएको थियो ।
प्रतिक्रिया