महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिकास्थित सोहडवाका झा दम्पतीको अपहरण गरी हत्या गरेको आरोपमा पक्राउ परेका थप तीन जनालाई प्रहरीले आज (आइतबार) सार्वजनिक गरेको छ । आइतबार जिल्ला प्रहरी कार्यालय महोत्तरीले पत्रकार सम्मेलन गरी स्थानीय तारादेवी झासहित उनका दुई छोरा कैलाश र विकास झालाई सार्वजनिक गरेको हो ।
पिपरा गाउँपालिका–५ स्थित सहोडवा बस्ने ६६ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीतादेवी झाको हत्यामा संलग्न रहेको आरोपमा शुक्रबार नै महोत्तरी प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।
उनीहरु झा दम्पतीका नातेदार नै रहेको प्रहरीले जानकारी दिएको छ । आरोपित कैलाश झाको घरमा झा दम्पतीको जलेको कपडा, शव लुकाइएको र जलाएको बाकस, जलाएका दाउरा लगायतका सामग्रीहरु समेत बरामद भएको प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । हत्यामा उनीहरुको संलग्नता देखिएको प्रहरीको दाबी छ ।
झा दम्पतीको अपहरणपछि हत्या गरेको आरोपमा प्रहरीले एक साताअघि छिमेकी रामबाबु यादव, उनका छोराहरू सुरेन्द्र र राजेन्द्र यादव, भारत बिहार मधुवनी घर भइ महोत्तरीको बनौलीमा बस्दै आएका हरेन्द्र ठाकुरलाई पक्राउ गरेको थियो । फागुन १० गते राति ओछ्यानबाटै बेपत्ता भएका झा दम्पतीको शव एक महिनापछि गाडिएको अवस्थामा पिपरा गाउँपालिका– २ स्थित अतरार जाने बाटोमा फेला परेको थियो ।
प्रतिक्रिया