काठमाडौं – थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको दोस्रो खेलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ । बंगलादेशविरुद्ध मैदान उत्रदा नेपाल फाइनल पुग्ने लक्ष्यमा हुनेछ । जसका लागि नेपाल नतिजा आफ्नो पक्षमा पार्न चाहन्छ ।
प्रतियोगिताको फाइनल पुग्न नेपाललाई बंगलादेशविरुद्ध जित वा बराबरीको नतिजा निकाल्नु पर्नेछ । त्यसैले यस खेल नेपालका लागि महत्वपूर्ण रहेको छ । बंगलादेश भने यस अघि नै फाइनल पुगिसकेको छ । जसको कारण बंगलादेश नेपालविरुद्ध डररहित मैदान उत्रनेछ ।
बंगलादेशले पहिलो खेलमा किर्गिस्तानको यू-२३ टिमलाई १-० ले हराएको थियो । नेपालले भने किर्गिस्तानविरुद्ध गोलरहित बराबरी खेलेको थियो । प्रतियोगितामा बंगलादेशले १ खेलमा ३ अंक जोडेको छ । नेपालले १ खेलमा १ अंक जोडेको छ । किर्गिस्तानले २ खेलमा १ अंक जोडेको छ ।
किर्गिस्तानको समेत फाइनल पुग्ने सम्भावना रहेको छ । नेपाल बंगलादेशसँग दुई भन्दा बढी गोल अन्तरले पराजित भएको खण्डमा किर्गिस्तान फाइनल पुग्नेछ । राउण्ड रोबिनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।
प्रतिक्रिया