काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टी विभाजनले कसैको पनि हित नगर्ने बताएका छन् । आज ९शुक्रबार० एमाले संसदीय दलको वैठकमा आफ्नो धारणा राख्दै नेता खनालले पार्टी एकता जोगाउन २०७५ जेठ २ गतेको सांगठनक संरचनामा फर्किन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
उनले सर्वोच्च अदालतले एमालेलाई पुरानै अवस्थामा फर्काएका कारण यो बीचमा भएका सबै निर्णय खारेज गरेर अगाडि बढ्नुपर्ने बताएको ती सांसदले जानकारी दिए । ‘सर्वोच्च अदालतले एमालेलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काइ दिएको हो, पार्टी एकतालाई जोगाउने हो भने त्यही फर्किनुको विकल्प छैन’, खनालको भनाई उद्धृत गर्दै ती सांसदले भने, ‘यो बीचमा भएको सबै निर्णयहरु खारेज गर्नुपर्छ ।’
खनालले आफ्नो कुरा राखेर बैठकबाट बाहिरिएका छन् । बरिष्ठ नेता खनाल र नेपाल समूहका अन्य सांसद भने बैठकमै छन् । २३ फागुनको सर्वोच्च अदालतको फैसला पछि पहिलो पटक यो समूह ओलीले बोलाएको बैठकमा सहभागी भएका छन् ।
प्रतिक्रिया