देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सत्ता सहकार्यबारे कांग्रेसले चाँडो निर्णय गर्नुपर्छ : बालकृष्ण खाँण

देशान्तर

रुपन्देही – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले कांग्रेस लामो समय चुप लागेर बस्न नहुने बताएका छन् । उनले पार्टीले कोसँग सत्ता सहकार्य गर्नेबारे चाँडै निर्णय गर्नुपर्ने बताएका छन् । आज (शुक्रबार) रुपन्देहीको बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता खाँणले नेपाली कांग्रेसले मुलुकलाई निकास दिन कोसँग हातेमालो गर्ने छिट्टो स्पष्ट पार्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘अब नेपाली कांग्रेसले संविधानको रक्षाका लागि कोसँग हातेमालो गर्ने, कोसँग संघर्ष गर्ने स्पष्ट पार्दै मुलुकलाई निकास दिनुपर्छ ।’ उनले पछिल्लो समय देश राजनीतिक रुपमा अनिर्णयको बन्दी भइरहेका बेला कांग्रेसको मौनता घातक हुने बताए । ‘लोकतान्त्रिक शक्ति धेरै समय चुप लागेर बस्न मिल्दैन । निकासका लागि पनि कांग्रेसले ठोस निर्णय गर्नुपर्छ,’ उनले भने ।

उनले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक मिनेट पनि सत्तामा रहने नैतिक अधिकार नभएको बताए । ‘संविधान नमान्नेलाई प्रधानमन्त्री बन्ने हक छैन,’ उनले भने । उनले संविधानको पालना नगर्ने राजनीतिक शक्तिसँगै नेपाली कांग्रेसले सहकार्य नगर्ने बताए । उनले संविधान माथि पटक–पटक प्रहार गर्ने पक्षलाई रोक्नुपर्ने पनि बताए । यो सरकार बन्नसाथ नागरिकको हक–अधिकार हनन्का लागि एकपछि अर्को विधेयक पनि ल्याएको उनले स्मरण गराए ।