काठमाडौं । मंगलबार दिउँसोबाट अवरुद्ध भएको पठाओको एप्लिकेशन सेवा २४ घण्टा पछि आज सुचारु भएको छ । प्राविधिक कारणले सफ्टवेयरमा समस्या आएपछि सेवा अवरुद्ध हुन पुगेकोमा बुधबार दिउँसो ३ बजेबाट पुनः सेवा सुचारु भएको कम्पनीले जानकारी दिएको छ ।
अनलाइन सफ्टवेयर सेवा सुचारु भएसँगै अब पूर्ववत् अवस्थामै राइड सेवा सुचारु भएको पठाओले बताएको छ । योसँगै पठाओद्वारा सञ्चालित बाइक, कार लाइट (ट्याक्सी) र फुड डेलिभरी सेवा सञ्चालनमा आएको पठाओ नेपाल प्रालिका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए ।
सेवा सुचारु भएपनि पठाओ राइडरलाई ज्याकेट र ट्राउजर (प्रोटेक्टिभ गेयर) लगाउन प्रतिबन्ध लगाएको छ । सोमबार बेलुकी काठमाडौंको नयाँ बसपार्कमा ट्याक्सी चालकको एक समूहले पठाओ चालकमाथि निर्घात कुटपिट गरेपछि प्रोटेक्टिभ गेयर लगाउन प्रतिबन्ध लगाएको हो ।
प्रतिक्रिया