कोरोना सङ्क्रमणका कारण लकडाउन गरेको एक वर्ष पुगेको छ । गत वर्ष चैत ११ गतेदेखि कोरोना भाइरस नियन्त्रण गर्न सरकारले लकडाउन गरेको थियो । पटक पटक गरी चार महिनासम्म लकडाउन गरिएको थियो ।
विश्वका अरु देशमा लकडाउन खुकुलो बनाएपनि नेपालमा पनि गत साउन ६ गतेदेखि लकडाउनको अन्त्य गरिएको थियो । लकडाउन हटेपछि बजार पसल खुले । ढिलो गरी भए पनि शैक्षिक संस्था खुले । सबै क्षेत्रमा चहलपहल बढ्यो ।
पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमणदर घट्दै पनि गयो । तर, भारतसहित विश्वका विभिन्न देशमा कोरोनाको दोस्रो लहर फैलिएसँगै नेपाल फेरि कोरोनाको जोखिम पहिलाको जस्तै हुने खतरा बढेको छ ।
लकडाउनको वर्ष दिन बित्न नपाउँदै फेरि दोस्रो लहरको डर बढेको छ । कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिए पछि भारतका केही ठाउँमा लकडाउन लागू गरिएको छ । भारतसँगको खुला सिमानाकाका कारण पनि नेपालमा कोरोना सङ्क्रमणको उच्च जोखिम बढेको चिकित्सकहरु बताउँछन् ।
भारतमा कार्यरत नेपाली घर फर्किने क्रम बढेको छ । फर्किनेहरुमा सङ्क्रमण भएको हुन सक्ने देखिन्छ । फर्किनेहरुको नाकामा नै स्वास्थ्य परीक्षण नगरिए जोखिम झन झन बढ्दै जाने छ । सरकारले भारतसँगका मुख्य १४ नाकामा निगरानी बढाएको छ ।
भारतमा संक्रमण बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्ड पालना गर्न आग्रह गरेको छ । मन्त्रालयले सभा, जुलुस, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड हुने व्यवसाय र काम नगर्न भनेको छ ।
प्रतिक्रिया