देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दक्षिणकालीमा भेटिएको दुई शव १० कक्षाका विद्यार्थी भएको पुष्टि

देशान्तर

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका–१ खहरे चाल्नाखेलमा आज (शुक्रबार) फेला परेको दुई शवको प्रहरीले पहिचान गरेको छ । शुक्रवार खहरेस्थित जंगलमा भेटिएको दुई जनाको शव १० कक्षामा पढ्ने विद्यार्थीको भएको पुष्टि भएको छ । प्रहरीले मृतकका आफन्तमार्फत शवको पहिचान पुष्टि गरेको हो ।

चाल्नाखेलमा भेटिएको दुई शव नुवाकोट घर भएका अर्जुन खड्का र काभ्रे घर भएका मंगल तामाङको भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले जानकारी दिएका छन् । नुवाकोट छापा घर भएका १६ वर्षीय खड्का असनस्थित टेउडा स्कुलमा कक्षा १० मा पढ्थे । काभ्रेको भुम्लु सल्ले गाउँपालिका घर भएका १८ वर्षीय मंगलचाहिँ क्षेत्रपाटीस्थित जिपी स्कुलमा कक्षा १० मा अध्ययनरत रहेको खुलेको प्रहरीले बताएको छ ।

‘दुवै जना बाङ्गेमूढामा बस्ने गरेको खुलेको छ’ एसपी बस्नेतले भने–‘उनीहरु साथी हुन्, मृत्युको कारण खुलिसकेको छैन, अनुसन्धानमै छौं ।’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंह कमाण्डको टोली घटनास्थलमा पुगेर शवको मुचुल्का गरेका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका फरेन्सिक डाक्टरले शवको अवस्था अवलोकन गरेका छन् ।

तालिम प्राप्त कुकुरलाई पनि अनुसन्धानमा प्रयोग गरिएको एसपी बस्नेतले जानकारी दिएका छन् । खहरेस्थित जंगलमा डाँडा वारी–पारी दुई जनाको शव फेला परेको थियो । अर्जुनका दाइले प्रहरीलाई दिएको जानकारी अनुसार उनीहरु बिहीबार बिहान १० बजेबाट हराइरहेका थिए ।
शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाको टिमले घटनाबारे अनुसन्धान गरिरहेका छन् ।