देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

४० प्रतिशत महिलामा आङ खस्ने समस्या

देशान्तर

दमौली । तनहुँको व्यास नगरपालिकाका चार वडामा सञ्चालित पाठेघर र पाठेघरको मुखको क्यान्सर सम्बन्धी शिविरबाट ४५७ महिला लाभान्वित भएका छन् । व्यास नगरपालिका–८, ९, १० र ११ मा सञ्चालित शिविरबाट उक्त सङ्ख्यामा महिला लाभान्वित भएका हुन् ।

आङ खस्ने समस्याका लागि ओमेन फर ओमेन नेदरल्याडको नेतृत्वमा, क्यान्सर सम्बन्धी परीक्षणका लागि नेपाल अष्ट्रिया क्यान्सर केयर फाउण्डेसनसँगको सहकार्य र सुनौलो नयाँ गोरेटो कृषि सहकारी संस्था र स्वदेशी नेपाल गोरखाको सहयोगमा शिविर सञ्चालन गरिएको हो ।

महिलामा हुने आङ खस्ने समस्याको पहिचान र निराकरणका साथै महिलाको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर भएका र हुने सम्भावित खतरामा रहेका महिलाको जाँच र उपचार गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको ओमेन फर ओमेन नेदरल्याडका नेपाल प्रतिनिधि विश्वनाथ पौडेलले जानकारी दिए ।

पाठेघरको मुखको क्यान्सर हुने सम्भावना भएका महिलाले शिविरकै क्रममा उपचार पाएका छन । जसबाट उनीहरु भविष्यमा क्यान्सरको सिकार हुनपर्ने जोखिमबाट सुरक्षित भएका छन् । परीक्षणका क्रममा शल्यक्रिया गर्नुपर्ने पहिचान भएकाहरुलाई काठमाडौँमा निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिने पौडेलले जानकारी दिए ।

शिविरको पहिलो दिन वडा नं ९ का १७२ जना महिलाले सेवा लिएका थिए । सो ठाउँमा परीक्षण गरिएकामध्ये ३१ प्रतिशत महिलामा आङ खस्ने समस्या देखिएको थियो । त्यस्तै वडा नं ८ का ११५ जना महिलामा गरिएको परीक्षणमा ३२ प्रतिशत महिलामा समस्या देखिएको छ । वडा नं १० का ८१ महिलामा गरिएको परीक्षणमा २५ प्रतिशत महिलामा आङ खस्ने समस्या पाइएको छ भने वडा नं ११ मा ८९ जनामा गरिएको परीक्षणमा ४० प्रतिशतमा आङ खस्ने समस्या पाइएको छ ।

शिविरमा भिआइए विधिबाट पाठेघरको मुखको क्यान्सर सम्बन्धी सम्भावनाको जाँच गर्दा भविष्यमा ८ देखि १० प्रतिशत महिलामा पछि गएर क्यान्सर हुनसक्ने सम्भावना देखिएकाले शिविरकै क्रममा उपचार गरिएको क्यान्सर रोग विशेषज्ञ आरती शाहले जानकारी दिए ।

त्यस्तै ५० प्रतिशतभन्दा बढी महिलामा पानी बग्ने समस्या र करीब ३५ देखि ४० प्रतिशतमा आङ खस्ने समस्या देखिएको उनले बताए । आङ खस्ने समस्याको पहिलो चरणका महिलालाई औषधि आवश्यक नपर्ने भएकाले उनीहरुलाई व्यायाम गर्न सुझाव दिइएको स्टाफ नर्स सुमित्रा आचार्यले बताउनुभयो । त्यस्तै दोस्रो चरणमा पुगेका महिलालाई पाठेघरको मुखमा रिङ राखेर उपचार गरिएको तथा तेस्रो र चौथो चरणमा पुगेका महिलालाई तत्कालका लागि औषधि र अन्य उपचार गरिएको छ । आङ खस्ने समस्याको तेस्रो र चौथो चरणमा रहेका महिलालाई एक महीनापछि काठमाडौँको मनमोहन मेमोरियल अस्पतालमा निःशुल्क शल्यक्रिया गरिनेछ ।

विगत १५ वर्षदेखि पाठेघरको समस्याबाट पीडित व्यास नगरपालिका–११ निवासी ८४ वर्षीया विष्णुमाया भुजेलले यतिका वर्षपछि उपचार पाउँदा खुशी लागेको बताइन् । पाठेघरको समस्याको उपचारबारे थाहा नपाएर यतिका वर्ष पीडा सहेर बस्न बाध्य भएको बताउँदै उनले घरदैलोमै स्वास्थ्य सेवा पाउँदा खुशी लागेको बताए ।