देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालमा निर्वस्त्र हुने छुट सबैलाई छ !

देशान्तर

माथवरसिंह बस्नेत

लज्जा ढाक्ने वस्त्र शरीरमा नहुनु भनेको नाङ्गो हुनु हो । त्यो नेपालमा राजनीतिक संस्कार र चरित्र बनिसकेको छ । सबै क्षेत्रका अगुवाहरूले वस्त्रहीनताको जस्तो चरित्र देखाएका छन्, त्यसकारण पनि नेपाललाई नागाहरूको देश भन्न लाज मान्नुपर्ने अवस्था रहेको छैन । शिवरात्रि पर्व मनाउन भारतबाट काठमाडौं आएका नागा बाबाहरूलाई उनीहरूको मागअनुसार सरकारले निर्वस्त्र भएर बस्ने मात्र होइन, सहरमा निर्धक्क घुम्ने अनुमति प्रदान गर्नुलाई पनि तसर्थ नितान्त स्वाभाविक मानिएको हो । त्यो घटनालाई एकथरी सभ्य कहलाउन चाहने नेपालीले नाक खुम्च्याउनु र धारेहात लगाउनु चाहिँ अस्वाभाविक र असभ्य चरित्रको प्रदर्शन भनेर आलोचना गरिएको छ । त्यो पनि अस्वाभाविक पटक्कै होइन । महादेव आफैं नाङ्गोपनका द्योतक हुन् । उनी वस्त्रधारी थिएनन् । नङ्गा थिए । उनको त्यही नङ्गा भेषका कारण नाङ्गोपनलाई प्रकृतिको सत्य मानिन्छ । शिव सत्य हुन्, सत्य सुन्दर हो । जहाँ सत्य र शिव हुन्छन् त्यसैलाई सुन्दर भनिएको कारण पनि त्यही हो । अनि, उनै महादेवलाई आराध्यदेव मान्ने नेपालको सर्वहारा कम्युनिस्ट सरकारले नागाहरूलाई निर्वस्त्र भएर काठमाडौंमा हिँडडुल गर्ने अनुमति प्रदान गरेर कसरी असभ्य काम गर्‍यो भन्ने ? त्यो त यथार्थमा शिवभक्ति हो । सही, सत्य र सुन्दरताको प्रतीक हो ।

नागा तथा अघोरी बाबाहरूलाई गाँजा, विष, भाँग, धतुरोजस्ता अनेक प्रकारका लागूपदार्थलाई महादेवको प्रसादका रूपमा चढाउने र ग्रहण गर्ने नेपालको प्राचीनकालदेखि चलिआएको परम्परा, संस्कार र संस्कृति हो । त्यसका लागि पनि शिवरात्रि पर्व विख्यात् रहिआएको छ । त्यस दिन गाँजा तान्ने, बाँड्ने र तिनैका नशामा लठ्ठ परेर विचरण गर्ने छुट अन्यत्र त दिने गरिएको छ भने पाशुपत क्षेत्रमा त त्यसले प्राथमिकता पाउने नै भयो । अनि, सरकारले भारतबाट आएका पाहुनाहरूलाई निर्वस्त्र हुने छुट दिन किन कञ्जुसी गथ्र्यो ? आखिर हामी सबै अतिथि देवो भवः भन्ने मन्त्रोच्चारण गर्ने शैव धर्मका अनुयायी जो ठहरियौं । नागा तथा अघोरी बाबाहरू शैव संस्कृतिलाई निरन्तरता प्रदान गर्ने मार्गदर्शक मात्र होइनन्, पहिचान र विशेषता बोकेका संवाहक पनि हुन् ।

केही कालयता नेपाली समाजका लगभग सबै क्षेत्रका जति अगुवा छन्, उनीहरू सबै निर्वस्त्र नै छन् । राष्ट्राध्यक्ष हुन् कि सरकार प्रमुख हुन्, न्यायालयका प्रमुख हुन् अथवा संवैधानिक निकायका प्रमुख किन नहुन्, उनीहरू सबैले आ–आफ्नो आङ ढाक्ने वस्त्र फुकालेर फालेको धेरै भइसकेको छ । त्यो क्रम राजनीतिबाटै सुरु भएको हो । हाम्रो शास्त्रले भनेको छ– नीति नाम श्रेष्ठ, राजनीति । अर्थात् राष्ट्र र समाजलाई डोर्‍याउने नीतिहरूमा सर्वश्रेष्ठ नीति हो– राजनीति । त्यस्तो नीतिका सञ्चालकहरू समाजका अगुवा तथा आदर्श हुने गर्दछन् । उनीहरू उच्च नैतिक मूल्य र मान्यताको अनुसरण गर्ने मात्र होइन, व्यक्तिगत चरित्रमा पनि अनुकरणीय हुन्छन् । त्यसकारण सबैले उनीहरूलाई पछ्याउँछन् । राजनीतिले अरू सबै नीतिलाई मार्गदर्शन गर्ने भएकाले त्यसलाई आदर्श र श्रेष्ठ मानिएको हो । त्यही कारण उच्च आदर्श, मूल्य र मान्यतामा आधारित राजनीतिक व्यवस्था स्थापना गर्न संसारभरि ठूल्ठुला संघर्ष र आन्दोलन भएका छन् । त्यस्ता आन्दोलनले समाज र व्यवस्थामा सुधार मात्र गरेका छैनन्, आमूल परिवर्तन पनि गरेका छन् । इतिहास साक्षी छ, विश्वका कुनै पनि कुनामा जति परिवर्तन भएका छन्, तिनले मानव जीवनलाई सहज, सुगम र समृद्ध तुल्याउने प्रयास गरेका छन् । तर जुन गतिमा परिवर्तन भएको छ, प्रतिगमन पनि त्यही गतिमा उल्टने गरेको छ । त्यो अर्को पाटो हो ।

महाजनो यन गतः सपन्था । अब कता लाग्ने ? जब त्यस्तो शंका र द्विविधा उत्पन्न हुन्छ, तब समाजका औसत मानिसहरू तिनलाई पछ्याउँछन्, जसले शास्त्रसम्मत तरिकाले सादा जीवन र उच्च विचार अपनाएका हुन्छन् । आदर्श र विचारको सम्बलबिना कुनै पनि व्यवस्थाले स्थायित्व प्राप्त गर्न सक्तैन र स्थायित्वबिना व्यवस्थाको नाम जतिसुकै राम्रो राखे पनि त्यसले मुलुकलाई स्थिरता प्रदान गर्न सक्तैन । नेपालको दुर्भाग्य नै के भयो भने जसले यो मुलुकलाई दिशाबोध गराउने जिम्मा पाएको हो, उसले कम्युनिस्टलाई प्रजातन्त्र जोगाउने र प्रजातन्त्रवादी कांग्रेसलाई कम्युनिस्ट बन्न प्रेरित र प्रोत्साहित गर्नेतिर आफ्नो प्रयास लगायो । परिणाम यो भयो कि यो देशमा न प्रजातन्त्र सफल भयो, न कम्युनिस्ट शासन स्थापित हुन सक्यो । विचार र सिद्धान्तका कसीमा हाँसको चाल न कुखुराको चालले नेपाल जहाँको तहीँ थच्चिन बाध्य भयो । यसपालि प्रधानमन्त्री केपी ओलीको कम्युनिस्ट सरकारले संसद् विघटनको संविधानविपरीत कदम चालेर संविधानलाई धोती लगाउने काम गरेकै थियो, सर्वोच्च अदालतले पनि एकातिर संसद् पुनस्र्थापित गर्ने, अर्कोतिर राजनीतिक दलसम्वन्धी कसैले मागै नगरेको फैसला गरेर देशलाई अराजकताको दलदलमा जाक्ने काम गरिदियो । उनीहरूले त्यसो गरेर संविधानसभाले बनाएको संविधान कति निकम्मा छ, त्यसलाई उदांग मात्र तुल्याइदिएनन्, यो संविधान चल्दैन, अर्को बनाउ पनि भनिदिए । त्यसअघि राष्ट्रपति, प्रधानमन्त्री, राजनीतिक दलका नेता मात्र अराजक थिए, त्यसपछि न्यायपालिका पनि त्यो दौडमा सामेल भयो । अब त यो नागा बाबाहरूको साँच्चैको धर्म निरपेक्ष देश हो भनेर घोषित गर्न कुनै बाधा–अड्काउ शेष बचेको छैन । त्यसका लागि अर्को शिवरात्रि पर्खन पनि जरुरी छैन ।

कुन मूल्य र मान्यतामा आधारित राजनीतिक व्यवस्था अपनाउने भन्ने विषयमा इतिहासका विशेष कालखण्डमा उठेका अनेक प्रकारका सवालमा आज मात्र होइन, ग्रिक सभ्यताकालदेखि नै विचार मन्थन र संघर्ष चल्दै आएको छ । पहिले निरंकुश राजतन्त्र र जनताका प्रतिनिधिले शासन चलाउने जनउत्तरदायी शासन व्यवस्थाका बीचमा द्वन्द्व थियो, कालान्तरमा समाजवादी चिन्तनले प्रमुख प्रतिद्वन्दीको स्थान ग्रहण गरेपछि प्रजातन्त्रवादी र समाजवादी मात्र मैदानमा बाँकी बचेका छन् ।

उनीहरूका आङबाट पनि लज्जा ढाक्ने वस्त्र अथवा कपडा झर्दै जान थालेर सबै एम्परर्स न्यु क्लोथका सम्राट् बन्न पुगेका छन् । त्यसैले यहाँ हर कोही तैं चुप मै चुप हुन पुगेका छन् । किनभने हामी सबै महाजनो यन गतः सपन्थाका अनुयायी हौं । हामी किन नाङ्गा छौं भन्ने प्रश्न गर्दैनौं, आफ्नो आङ्को निरीक्षण नगरी अर्काको आङ्को पोसाकको तारिफ गरेर आफ्नो नाङ्गोपन ढाक्ने असफल प्रयास गर्छौ । त्यही हाम्रो विशेषता हो । त्यही हाम्रो नागा हुनुको प्रमाण पनि हो ।