देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सर्वोच्च अदालतकाे न्यायाधीशमा चुडाल र सुवेदी सिफारिस

देशान्तर

काठमाडौँ – सर्वोच्च अदालतको न्यायाधीशमा डा. कुमार चुडाल र नहकुल सुवेदीलाई सिफारिस गरिएको छ । शुक्रबार बसेको न्याय परिषद्को बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश डा. कुमार चुडाल र उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीलाई सर्वोच्च अदालतमा न्यायाधीशका लागि सिफारिस गरेको हो ।

शुक्रबारकै बैठकले उच्च अदालतका लागि न्याय सेवाका विशिष्ट श्रेणीबाट दुई जनालाई न्यायाधीश लागि सिफारिस गरेको छ । महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता नारायण प्रसाद पौडेललाई उच्च अदालत पाटन र कानून मन्त्रालयका सचिव ऋषि राजभण्डारीलाई उच्च अदालत पोखरामा न्यायाधीशका लागि सिफारिस भएको हो ।

त्यसैगरी जिल्ला न्यायाधीश मध्येबाट जगतनारायण प्रधान, माधवेन्द्र रेग्मी, पुरुषोत्तम प्रसाद ढकाल, विष्णु सुवेदी, अर्जुनप्रसाद कोइराला, अमृतबहादुर बस्नेत र मेदिनीप्रसाद पौडेललाई विभिन्न उच्च अदालतका न्यायाधीशका लागि सिफारिस गरिएको छ । त्यसैगरी न्याय सेवाका प्रथम श्रेणीका अधिकृतबाट रामेश्वर रेग्मी र ममता खनाललाई पनि उच्च अदालतका न्यायाधीशमा सिफारिस गरिएको छ ।

त्यस्तै अधिवक्तामध्येबाट फुर्पा तामाङ, श्रीधरा कुमारी पुडासैनी, जगदीश घिमिरे, पुनम सिंह, सागर विष्ट, गणेश ठगुन्ना र निर्मला शाक्यलाई पनि उच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएको छ । यसरी न्याय परिषद्को शुक्रबारको बैठकले सर्वोच्च अदालतमा रिक्त २ न्यायाधीश र उच्च अदालतका लागि १८ जना न्यायाधीशको नाम सिफारिस गरेको हो । परिषद्ले सिफारिस गरेपछि अब ४५ दिनभित्र संसदीय सुनुवाई गरिसक्नुपर्नेछ । ४५ दिनभित्र संसदीय सुनुवाई नभए स्वतः नियुक्त हुनेछन् ।