देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कर्णालीमा हामफालेका एकै घरका पाँचमध्ये चार जनाको शव भेटियो, एक जनाको खोजी जारी

देशान्तर

दैलेख – दैलेखमा कर्णाली नदीमा हामफालेका एकै घरका पाँचमध्ये चार जनाको शव भेटिएको छ । आइतबार साँझ घरबाट निस्किएर बेपत्ता भएका एकै घरका पाँच जनामध्ये थप दुई जनाको शव फेला परेको हो ।

दैलेखको आठबीस नगरपालिका–३ निमाइलका ३५ वर्षीया सुकी बडुवाल उनका छोरीहरु १५ वर्षीया कल्पना वडुवाल, १२ वर्षीया सरिता बडुवाल, ७ वर्षीया रजनी बडुवाल र छोरा १० वर्षीय ललित बडुवाल सोमबार साँझ घरबाट निस्किएपछि बेपत्ता थिए ।

आमासहित बेपत्ता भएकामध्ये १५ वर्षीया कल्पना वडुवाल र १२ वर्षीया सरिता बडुवालको शव सोमबार दिउँसो फेला परेको थियो । उनीहरुको शव अछामको पञ्चदेवल विनायक नगरपालिका –४ बेलखेतस्थित कर्णाली नदीमा माछा मार्ने प्रयोग गरिएको पासोमा बेरिएको अवस्थामा फेला परेका थिए ।

बेपत्ता रहेका आमा सुकी बडुवाल, छोरी ७ वर्षीया रजनी बडुवाल र छोरा १० वर्षीय ललित बडुवालको खोजीका लागि आज बिहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा खटिएका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा आज (मंगलबार) दिउँसो १२ बजेतिर दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डिएसपी) अनुपम श्रेष्ठले जानकारी दिएका छन् ।

सुकी बडुवाल र उनका छोरा १० वर्षीया ललित बडुवालको शव फेला परेको डिएसपी श्रेष्ठले बताए । घटनास्थलमा रहेका डिएसपी श्रेष्ठले भने, ‘दैलेख र अछाम जोड्ने बेलखेतस्थित पुल नजिकैको कर्णाली नदिमा दुई जनाको शव फेला परेको छ ।’ डिएसपी श्रेष्ठका अनुसार ७ वर्षीया रजनी बडुवाल अझै बेपत्ता छिन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

थप दुई जनाको शव पनि कर्णाली नदिमै भेटिएपछि पाँचै जनाले कर्णाली नदिमा हाम फालेको पुष्टि भएको छ । यता सुकीका श्रीमान् मानबहादुर बडुवाललाई पक्राउ गरी अनुसन्धान समेत थालेको प्रहरीले जनाएको छ । उक्त घटनामा अनुसन्धान र खोजतलासका लागि कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार पन्त, जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) अनुपम श्रेष्ठ सहितको प्रहरी टोली मंगलबार बिहानैदेखि घटनास्थलमा खटिएको छ ।