काठमाडौं – काठमाडौं मेयर कप अन्तर्गत मंगलबार भएको विभागीय डर्बीमा नेपाल पुलिस क्लब विजयी भएको छ । उसले त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले पराजित गरेको हो । आर्मीले दिएको ८८ रनको लक्ष्य पुलिसले १८.३ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो ।
पुलिसका लागि सुनिल धमलाले सर्वाधिक ३९ रनको योगदान दिए । १७.४ ओभरमा साहब आलमले बोल्ड गराउनुअघि उनले ४८ बलमा ३ चौका र २ छक्का प्रहार गरे । पवन सरार्फले अविजित २२ र दिलीप नाथले १५ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले दोहारो अंकमा रन जोड्न सकेनन् ।
आर्मीका लागि सातै विकेट साहब आलमले लिए । मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको आर्मीले ३०.१ ओभरमा सबै विकेट गुमाउँदै ८७ रनको योगफल तयार पारेको थियो ।
उसका लागि कुनै पनि ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । लोकेश बमले सर्वाधिक ३२ रनको योगदान दिए । ३०.१ ओभरमा ललित राजवंशीले एलबिडब्ल्युको सिकार बनाउनुअघि उनले २४ बलमा २ चौका र ३ छक्का प्रहार गरे ।
विक्रम सोबले १४ र रोहित पौडेलले १३ रनको योगदान दिँदा अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । आर्मीलाई सस्तैमा समेट्न पुलिसका सागर ढकालले ५, पवन सरार्फले ३ र ललित राजवंशीले २ विकेट लिए । पहिलो खेलमा बागमती प्रदेशलाई २ रनले हराएको पुलिस दोस्रो खेलमा नेपाल एपिएफ क्लबसँग १ विकेटले पराजित भएको थियो ।
पहिलो खेलमा एपिएफसँग १ विकेटको पराजय बेहोरेको आर्मीले दोस्रो खेलमा काठमाडौं मेयर ११ लाई ५ विकेटले हराएको थियो ।
प्रतिक्रिया