देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गंगालाल र गणेशमानको केमेस्ट्री

देशान्तर

माथवरसिंह बस्नेत

नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासमा विसं १९९७ को प्रजा परिषद्को नेतृत्वमा भएको पहिलो जनविद्रोहको विशिष्ट स्थान छ । यथार्थमा २००७ सालको क्रान्ति र परिवर्तनको प्रेरणा र जग त्यही विद्रोह थियो । ती दुवै ऐतिहासिक घटनालाई जोड्ने कडी अथवा पुल हुनुहुन्थ्यो– लौहपुरुष गणेशमान सिंह । गणेशमान सिंह र अमर सहिद गंगालाललाई भेट गराएर त्यस्तो महान् ऐतिहासिक घटनासँग जोड्ने अवसर जुटाइदिनु भएको थियो, हरिकृष्ण श्रेष्ठले । व्यक्तिका गुण र सामथ्र्यको पहिचान गर्ने अद्भुत क्षमता राख्ने हरिकृष्णकै प्रयासले गणेशमान सिंह र गंगालालको भेट सम्भव भएको थियो । त्यसपछि दुवैजना मिलेर भूमिगत प्रजा परिषद्को खोज सुरु गर्नु भएको थियो ।

अन्ततः राजा त्रिभुवनका व्यायाम शिक्षक धर्मभक्त माथेमा, जो गणेशमानजीलाई पनि बक्सिङ सिकाउनुहुन्थ्यो, उहाँबाट गंगालाल, गणेशमान र हंरिकृष्ण श्रेष्ठले प्रजा परिषद्को सदस्यता प्राप्त गर्नुभयो र त्यसरी इतिहासको विशेष कालखण्डको पृष्ठभूमि तयार भएको थियो ।

त्यसअघिको भूमिका यद्यपि रोचक एवं आकर्षक नलाग्न सक्छ, तथापि त्यसको उल्लेखबिना नेपालको राजनीतिमा जनता तत्वको स्थान र स्थिति स्थापित गर्ने प्रयास कसरी भएको थियो, त्यसमाथि प्रकाश पार्न पनि त्यसको सिलसिलेवार अध्ययनको फुर्को फेला पार्न सकिन्न । त्यसका निम्ति पनि त्यो कालखण्डको अध्ययन आवश्यक मात्र होइन, अपरिहार्य नै हुन्छ । बेलायतको उपनिवेशबाट भारतलाई मुक्त तुल्याउन त्यहाँका साधुसन्त, महन्त, जोगी, पण्डित आदिले आध्यात्मिक तथा सांस्कृतिक पुनर्जागरणको आन्दोलनलाई जनचेतनाको अचुक अस्त्रका रूपमा विकास गरेका थिए । नेपालमा पनि राणाहरूको एकतन्त्री शासनको शोषण र दमनविरुद्धको आन्दोलन, धार्मिक तथा सांस्कृतिक जागरणबाटै थालिएको थियो । त्यसका उन्नायक हुनुहुन्थ्यो, शुक्रराज शास्त्री । चतुर्मासामा काठमाडौंका विभिन्न टोलमा हुने पुराणवाचनलाई शुक्रराज शास्त्रीले पण्डित मुरलीधरको सहयोग प्राप्त गरेर जनचेतना जगाउने माध्यमका रूपमा उपयोग गर्न थाल्नु भएको थियो ।

उहाँको त्यस्तो प्रयोग, क्रमशः सबैतिर लोकप्रिय हुन पुगेको थियो । मुरलीधरको पाण्डित्यको ख्याति र लोकप्रियता पनि शिखरमा पुगेको थियो । पुराण सुन्न आउनेको भीड निरन्तर बढ्न थालेपछि शुक्रराजले गंगालाललाई अघि सारेर राजनीतिक प्रवचानका निम्ति प्रोत्साहित गर्न थाल्नुभयो ।

गंगालालले फ्रान्स, रुस र टर्कीको क्रान्तिको उदाहरण दिएर नेपालमा पनि राणा शासन उल्टाएर जनताले चुनेको सरकार स्थापित गर्न असम्भव छैन, त्यसका लागि जनताको जागरुकता र संगठनको खाँचो छ भन्ने सन्देश सम्प्रेषित गर्न थाल्नुभयो । पुराणमा देवताले दैत्यको विनाश गरेजस्तै आधुनिक जमानामा जनताले अत्याचारी शासकको दमन र शोषणका विरुद्ध क्रान्ति गर्नु पर्ने र परिवर्तन ल्याउनुपर्ने खाँचो छ भनेर श्रोताहरूलाई जुरुक्क उचाल्ने काम गर्न लाग्नुभयो । उहाँको त्यस्तो आगो ओकल्ने भाषणको चर्चा काठमाडौंमा मात्र होइन, नेपालीको बसोबास भएका भारतका विभिन्न सहरमा समेत फैलिन पुगेको थियो । नेपालीका निम्ति जसरी बनारस त्यस बेलाको धार्मिक तथा शैक्षिक केन्द्र थियो, त्यसैगरी कलकत्ता, प्रमुख व्यापारिक केन्द्र थियो । गणेशमान सिंह, त्यही आईएस्सीको दोस्रो वर्षमा अध्ययन गरिरहनु भएको थियो ।

उहाँको तिनताकाको क्रान्तिकारी काम भनेको पटनाबाट प्रकाशित हुने जनता मात्र होइन, कलकत्ताबाट अंग्रेजीमा निक्लने एडभान्स र दि हिन्दुस्थान स्टान्डरमा जति नेपालसम्बन्धी लेख, टिप्पणी, समाचार, सम्पादकीय आदि छापिएका हुन्थे, तिनका कटिङहरू हुलाकबाट काठमाडौंका साथीहरूलाई पठाउने र उनीहरूले पढिसकेपछि अरू साथीहरूलाई पनि पढ्न दिनुपर्ने क्रम बाँधेर जनचेतना जगाउने काम बडो मनोयोगले गर्नुहुन्थ्यो । कुनै राजनीतिक विचार अथवा संगठनसँग सम्बद्ध भएका कारणले होइन, बीसौं शताब्दीमा पनि राणाहरू नेपाली जनतालाई मौलिक हकबाट बञ्चित गरेर पारिवारिक शासन चलाइरहेका छन् सामन्ती शासनको जमाना बितिसकेको छ, जनता अब जाग्दैछन् भनेर लेखेको लेखबाट रोमाञ्चित भएर उहाँले ती काम गर्ने गर्नुभएको थियो । त्यसैबीच एकजना नेपाली व्यापारीको कोठीमा गंगालालको भाषणको प्रसंग र प्रशंसा सुनेपछि उहाँलाई काठमाडौं फर्कने हुटहुटी लाग्न थाल्यो । गंगालालसँग भेट गरेर राजनीतिक क्रियाकलाप अघि बढाउने अथवा संगठन खडा गर्ने उद्देश्यले होइन, उहाँको तेजोबध गर्ने नियतले उहाँ काठमाडौं फर्किन हतारिनु भएको थियो ।

गंगालाल श्रेष्ठ पहिलो पल्टको गिरफ्तारीपछि सबैको सल्लाह र सुझावअनुसार माफी मागेर छुट्नु भएको थियो । गणेशमान सिंहले त्यो घटनालाई उछालेर खुच्चिङ बजाउँदै कलकत्तामा होहल्ला मच्चाएको कुरा काठमाडौंका साथीहरूले मन पराएका थिएनन् । त्यसैले जब गर्मीको छुट्टी मनाउन गणेशमान काठमाडौं फर्किनु भयो, तब गंगालाल र उहाँलाई मिलाउने प्रयास हुन थाल्यो । दुवैले मिलेर काम गरे भने देश र जनताका लागि ठोस योगदान गर्न सक्ने विश्वास राख्ने हरिकृष्ण श्रेष्ठले त्यो प्रयासमा अग्रसरता लिनुभएको थियो । उहाँले एक दिन गंगालाल र गणेशमान सिंहलाई झोछेंको आफ्नो घरमा बेलुकाको खानाका लागि आमन्त्रित गर्नुभयो । गणेशमान सिंह र गंगालालको त्यो पहिलो भेट मात्र थिएन, राजनीतिक चिन्तनको अन्योल र अस्पष्टता चिरेर राणा शासनको अन्त्य र जनताका प्रतिनिधिले शासन चलाउने राज्यव्यवस्था स्थापित गर्ने लक्ष हासिल गर्न मिलेर काम गर्ने अठोट र संकल्पको प्रस्थानबिन्दु पनि थियो । गणेशमान सिंहभित्रको राजनीतिक चेतनाले परिवर्तनका लागि कुन माध्यमबाट कसरी काम गर्ने त्यसको दिशाबोध गर्न सकिरहेको थिएन ।

गंगालालभित्र प्रजा परिषद्मा सामेल भएर राणा शासनका विरुद्ध क्रान्तिको बिगुल फुक्ने प्रबल आकांक्षा थियो तर त्यसका निम्ति भरपर्दा सहयोगीहरूको साथ मिल्न सकिरहेको थिएन । त्यो भेट र बसन्तपुर दरबारको घटना, दुवैका लागि के खोज्छस् काना, आँखा भनेजस्तो भयो । अर्थात् त्यसपछि उहाँहरू एक अर्काका पूरक बन्न पुग्नुभयो ।

झोछेंबाट गंगालाल र गणेशमान हरिकृष्णसँग बिदा भएर आ–आफ्नो घर जान बसन्तपुर दरबार परिसरमा निक्लनु भयो । त्यहाँ मधुरो बिजुलीको उज्यालोमा दुइवटी तरुनी च्यामिनीहरू बाटो बढारिरहेका थिए । तिनलाई लक्ष्य गरेर गंगालालले भन्नुभयो– यसबेला यिनलाई कुनै राणाले देखे र घिसारेर लगे भने तिनको परिवारले केही गर्न सक्छ, गणेशमान दाइ ?

उहाँले लापरवाह भएर जवाफ दिनुभयो– राणाको के कुरा, मैले नै लगें भने पनि कसैले केही गर्न सक्तैन ।

त्यो त ठीक होला तर तपाईं हाम्रै दिदीबहिनी, श्रीमतीलाई राणाले लगे भने पनि हामी के गर्न सक्छौं र ! सक्तैनौं । हामी त्यत्ति दयनीय अवस्थामा छौं ।

गणेशमान सिंह नाजवाफ हुनुभयो । उहाँलाई लाग्यो, गंगालालले मेरो तेजोबध गर्न त्यसो भनेका हुन् । ठुस्सिएर गणेशमान यटखा र गंगालाल प्याफल पुग्नुभयो । घर पुगेपछि पनि उहाँ निदाउन सक्नु भएन । गंगालालको प्रश्नले लघारी रह्यो । बिहान उज्यालो नहुँदै उहाँ उठ्नुभयो र गंगालाललाई भेट्न उहाँको घर पुग्नु भयो । त्यसपछि जे भयो त्यो नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासको सुनौलो अध्याय भएकाले त्यसमाथि थप प्रकाश पार्न आवश्यक छैन । गंगालालको शहादत र गणेशमान सिंहको फलामे इच्छाशक्तिबाट निर्मित इतिहासलाई २००७ सालको क्रान्तिले चरमोत्कर्षमा पुर्‍याएको हो । त्यो गंगालाल र गणेशमान सिंहको केमेस्ट्रीको स्वाभाविक परिणाम थियो ।