काठमाडौँ – सशस्त्र प्रहरी बलको एपीएफ क्लबले दुई खेल बाँकी छँदै महिला राष्ट्रिय लिग फुटबलको उपाधि रक्षा गरेको छ । दोस्रो स्थानमा रहेको आर्मी बुधबारको पहिलो खेलमा १-१ मा रोकिएपछि एपीएफ दुई खेलअगावै च्याम्पियन भएको हो ।
पहिलोपल्ट आयोजित ‘डबल लिग’मा एपीएफले शतप्रतिशत जितसहित १० खलेलबाट ३० अंक जोडेको छ । सात टिम सहभागी लिगमा उसले ११ औं चरणको खेलमा अहिले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा विराटनगर महानगरपालिकाविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । वर्षातबीच यस खेलमा मैदानमा ओर्लनुअघि नै एपीएफले उपाधि निश्चित गरेको हो ।
दोस्रो स्थानमा रहेको आर्मीले ११ औं चरणमा पुलिसविरुद्ध बराबरीमा राकिएपछि २६ अंक बनायो । उसले फागुन ७ गते हुने लिगको अन्तिम खेलमा एपीएफको सामना गर्नेछ । तर, त्यो खेल जित्न सक्यो भनेपनि आर्मीले एपीएफलाई भेट्ने छैन । त्यसैले राष्ट्रिय खेलाडीले भरिएको एपीएफले दुई खेल बाँकी छँदै उपाधि रक्षा गरेको हो ।
११ खेलबाट १५ अंक जोड्दै पुलिस चौथो स्थानमा उक्लियो । एपीएफविरुद्ध प्रतिस्पर्धा गरिरहेको विराटनगर १६ अंकसहित तेस्रोमा छ ।
प्रतिक्रिया