जर्मन क्लब बायर्न म्युनिकले फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । बिहीबार राति भएको फाइनलमा मेक्सिकोको टिग्रेस क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै बायर्नले क्लब विश्वकपको उपाधि जितेको हो ।
कतारको एजुकेसन सिटी रंगशालामा भएको खेलमा जर्मन क्लब बायर्नले संघर्षपूर्ण जित निकालेको हो । बायर्नका जितमा बेन्जामिन पाभार्डले गोल गरे । पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको बायर्नले खेलको दोस्रो हाफमा गोल गर्दै जित निकालेको हो । खेलको ५९ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको पासमा पाभार्डले गोल गर्दै बायर्नलाई १–० को जित दिलाए ।
बायर्नले खेलअवधिभर राम्रो खेल्दै एकपछि अर्को प्रहार गरेको थियो । १७ पटक टिग्रेसको पोष्टमा प्रहार गरेको बायर्नले ५६ प्रतिशत बल पोजिसन आफ्नो पक्षमा राखेको थियो । यसअघि सेमिफाइनलमा बायर्नले इजिप्टको अल एहलीलाई २–० गोल अन्तरले हराउँदै फाइनलमा पुगेको थियोे । सेमिफाइनलमा बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले दुवै गोल गरेका थिए ।
फिफा क्लब विश्वकप फुटबलको उपाधि बायर्नले यो दोस्रो पटक जितेको हो । यसअघि सन् २०१३ मा बायर्नले पहिलो पटक फिफा क्लब विश्वकपको उपाधि जितेको थियो । २०१३ को फाइनल खेलमा बायर्नले मोरोकोको राजा कासाब्लानकालाई २–० गोलअन्तरले पराजित गरेको थियो ।
प्रतिक्रिया