काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई अस्थिरतातर्फ लैजान नहुनेमा जोड दिएका छन् । दमौलीमा शनिबार आयोजित साक्षात्कार कार्यक्रममा वरिष्ठ नेता पौडेलले देशमा स्थायित्व र समृद्धि आवश्यक रहेको बताएका हुन् ।
नेपाली कांग्रेसले मात्रै देश विकास गर्नसक्ने दाबी गर्दै वरिष्ठ नेता पौडेलले नयाँ राजनीतिक ध्रुवीकरणले कांग्रेसलाई अवसर प्राप्त भएको चर्चा गरे । ‘कांग्रेसले हैसियत, उत्तरदायित्व बुझेर अगाडि बढ्नुपर्छ, अहिले प्राप्त भएको अवसरलाई सदुपयोग गर्नुपर्छ’, पौडेलले भने ।
वरिष्ठ नेता पौडेलले कांग्रेसलाई भरोसाको केन्द्र बनाउनुपर्नेमा जोड दिए । झण्डै दुई तिहाइ मत प्राप्त सरकारले जनभावनाअनुसार काम गर्न नसकेकाले जनताको आकर्षण कांग्रेसमा बढेको पौडेलको भनाइ थियो ।
कांग्रेसको आगामी महाधिवेशनमा सभापतिबारे सोधिएको सञ्चारकर्मीको प्रश्नमा वरिष्ठ नेता पौडेलले अहिल्यै त्यसबारेमा बोल्ने बेला नआएको टिप्पणी गरे ।
प्रतिक्रिया